नेपालगन्ज : नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्रर्वद्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अठोट लिएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको उद्योगी/व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अठोट लिएका हुन् ।
प्रचार–प्रसारको अन्तिम दिन उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेसको अर्थ÷व्यवसायको उदार नीतिले नै नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन भएको बताए । व्यवसायीका सवाललाई आफुले पनि उच्च प्राथमिकतामा राखेको कोइरालाको भनाई छ । उम्मेदवार कोइरालाले नेपालगन्जको उद्योग, व्यवसाय विकासमा आफु जानकार रहेकाले निर्वाचित भएपछि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

‘अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्,’ उनले भने, ‘म उद्योगी, ब्यवसायीसँग बसेको छु, उद्योगी ब्यवसायीका धेरै पीडा छन्, मैले राम्ररी बुझेको छु ।’ कार्यक्रममा नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक गोपालप्रसाद अधिकारीले बद्लिएको काँग्रेसले नै देशको अर्थतन्त्रलाई उभो लगाउन सक्ने स्पष्ट भिजन प्रस्तुत गरेको भन्दै काँग्रेसका उम्मेदवारलाई जिताउन आहवान गरे ।
नेपालगन्ज क्षेत्रका प्रतिष्ठित उद्योगी÷व्यवसायी सम्मिलित भेलाले कोइरालालाई समर्थन गर्दै अग्रिम विजयीको शुभकामना दिएका थिए । नेपालगन्जका वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यले उम्मेदवार कोइराला जित नजिक पुगिसकेको भन्दै शुभकामना दिएका थिए । उनले अहिले उद्योगी, ब्यवसायीले आफ्ना माग राख्ने भन्दापनि निर्वाचित भएपछि बसेर उद्योगी, ब्यवसायीका समस्या र सवालबारे कोइरालासँग छलफल गरिने बताए ।
उक्त कार्यक्रममा ब्यवसायी धु्रब प्रसाद दाहालले कोइराला मात्र स्पष्ट भिजन र क्षमता भएको उम्मेदवार भएको बताएका थिए । कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

