बाँके(डुडुवा) : नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ मा आफुहरु जित नजिक पुगिसकेको उद्घोष गरेको छ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासहित सोमबार (आज) निकालिएको बृहत र्यालीपछि डुडुवा–२ सन्तलियामा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै बोल्ने नेताहरुले आम मतदाताले नेपाली कांग्रेसलाई जिताउने संकेत देखाईसकेको भन्दै अब यो संकेतलाई परिणाममा बदल्नुपर्ने बताए ।
कांग्रेसले जित्दै गर्दा अहिले नै हौसिनुपर्ने अवस्था नरहेकाले फागुन २१ गते बेलुकासम्म आफ्नो सक्रियतालाई कायमै राख्नुपर्ने उनीहरुको भनाई छ । सभालाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले बाँके–२ मा नेपाली कांग्रेसको जित सुनिश्चित भईसकेको बताए । ‘बाँके क्षेत्र नम्बर २ मा हाम्रो जित सुनिश्चित भइसकेको छ, आज प्रचार–प्रसारको अन्तिम दिन हो, मैले यसबीचमा धेरै आमाबुवा, दाजुभाई, दिदी बहिनी र युवा साथीहरुलाई भेट्ने प्रयास गरेको छु र उहाँहरुबाट आर्शिवाद लिने प्रयास गरेको छु, तर हामीसँग समय छोटो भएकाले एक लाख भन्दाबढी मतदाताहरु सबैलाई भेट्न सजिलो रहेनछ, त्यसैले नेपाली कांग्रेसको योगदानलाई सम्झेर नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी गराउनु हुन म यसै कार्यक्रममार्फत सार्वजनिक रुपमा अपिल गर्दछु,’ उनले भने ।

आफु निर्वाचित भएपछि बाँके क्षेत्र नम्बर २ बासीहरुसँगै समन्वय गरेर काम गर्ने प्रतिवद्धता दोहोर्याए । ‘म भ्रष्टाचार गर्नेछैन, सुशासन दिन्छु, यो क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा, पिछडिएको क्षेत्र, अपांगता, महिला लगायत समग्र क्षेत्रको विकासको लागि समन्वय गर्नेछु र यहाँको समस्यालाई संसदमा पुगेर आवाज उठाउनेछु,’ कोइरालाले भने । कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा विगत १२ वर्षदेखी नेतृत्व नपाउँदा यहाँ ठुला विकासका कामहरु अलपत्र परेको उनको भनाई छ ।
नेपाली कांग्रेसले २००७ सालदेखी हालसम्म हरेक परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै उनले जेनजी आन्दोलनपछि पनि नेपाली कांग्रेसले नै आफुलाई परिवर्तन गर्ने पहिलो पार्टीका रुपमा चिनाएको बताए । ‘जेनजी आन्दोलनका क्रममा हाम्रो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का कलिला भाईहरु सुलभराज श्रेष्ठ र आयुष थापाले साहदत प्राप्त गर्नु भएको छ, उहाँहरुसहित जेनजी आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति म श्रद्धाञ्जली ब्यक्त गर्दछु र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भने ।
नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजय यादवको सभापतित्वमा सम्पन्न भएको बृहत चुनावी सभालाई प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार बर्माले सुशिल कोइरालाले गरेका विकास योजनालाई देखाएर आफुले गरेको भन्दै कसैले जनतामाथी भ्रम सिर्जना गर्ने काम गरिरहेको बताए । नेपाली कांग्रेसले १२ वर्षसम्म बाँके क्षेत्र नम्बर २ मा नेतृत्व नपाएको भन्दै यसपटक जसरी भएपनि कांग्रेसलाई जिताउन उनले आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले अहिलेसम्म ३ जना मन्त्री पाईसक्दा पनि गाउँपालिकाबासीले विकासको अनुभुति गर्न नपाएको बताए । जनतालाई झुटा आश्वासन बाँड्ने काम मात्रै उनीहरुले गरेको बताए ।
उक्त कार्यक्रमलाई नेपाली कांग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा(सिद्धिकी) र सुशिला नेपाली(बादी), नेपाली कांग्रेस प्रदेश सभा–२ का अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, कांग्रेस नेता एवम् मुस्लिम अगुवा कादिर अन्सारी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, पुर्वसांसद कैलाशनाथ कसौधन, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेतृ एवम् डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यद्धय दिक्षा कोइराला र कृष्णा सापकोटा, कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत दशौं हजार नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।
बृहत चुनावी सभाअघि नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रचार–प्रसार समितिको आयोजनामा नेपालगन्जदेखी डुडुवा गाउँपालिकासम्म मोटरसाईकल सहितको बृहत र्याली निकालिएको थियो । र्यालीमा दशौं ठुलो संख्यामा युवाहरु सहभागी भएका थिए । नेपालगन्जस्थित रामलिला मैदानबाट सोमबार बिहान ११ बजेतिर सुरु भएको र्याली गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक हुदै पुनः कारकाँदो, पुष्पलाल चोक हुदै सहिद सेतु बिक चोक, न्युरोड, त्रिवेणीमोड, फुलटेक्रा हुदै डुडुवा–२ सन्तलियामा पुगेर बृहत चुनावी सभामा परिणत भएको थियो ।