काठमाडौं : इरान र अमेरिका-इजरायलबीचको हालको युद्धमा खाडी मुलुकहरूमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ। पछिल्लो जानकारीअनुसार द्वन्द्वका कारण घाइते हुनेहरूको कुल संख्या एक सय ५० भन्दा बढी पुगेको छ।
मृत्यु हुनेहरूमा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीसहित तीन जना विदेशी कामदार, ओमानमा एक भारतीय, बहराइनमा एक र कुवेतमा पनि त्यहीँका एक नागरिकसहित छ अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। मारिने र घाइते हुनेको ठूलो संख्या वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदार र अमेरिकी सेवा सदस्यहरू रहेको बताइएको छ।
घाइते हुनेहरूको संख्या कुवेतमा सबैभन्दा बढी ५९ जना भन्दा बढी पुगेको छ, जसमा नागरिक र सैनिक दुवै समावेश छन्। त्यस्तै युएईमा ५८, कतारमा १६, बहराइनमा ६ र ओमानमा ५ जना घाइते भएका छन्। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले १८ अमेरिकी सैनिक गम्भीर घाइते भएको पुष्टि गरेको छ भने अन्य धेरैलाई सामान्य चोटपटक लागेको जनाएको छ।
मिसाइल र ड्रोनहरू निष्क्रिय पार्ने क्रममा खसेका भग्नावशेषका कारण आवासीय क्षेत्रमा धेरै मानिस घाइते भएको रिपोर्ट प्राप्त भएको छ। युद्धमा ज्यान गुमाउने नेपाली गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठ हुन्। चामबहादुर श्रेष्ठ र पवित्राका एक्ला सन्तान दिवस गत वर्षको दसैंमा घर आएका थिए। दिवस चार वर्षअघि युएई गएका थिए। आइतबार युएईमा इरानको ड्रोन आक्रमणमा परी उनको मृत्यु भएको हो।
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार सूचना जारी गरेर ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी दिवसको मृत्यु भएको पुष्टि गरेको छ। दिवसको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासको भनाइ छ। उनको मृत्युको खबरले बुवाआमा नि:शब्द बनेका छन् भने पुरै गाउँ शोकमा डुबेको छ। हाल खाडीका अन्य मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर समेत चिन्ता व्यक्त गर्न थालिएको छ।