नेपालगन्ज : नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को कार्यसमिति बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को समिक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ । राप्ती सोनारी-६ फत्तेपुरमा आइतबार बैठक सम्पन्न भएको हो । क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा सम्पन्न बैठकपछि उनले निर्वाचन शान्तिपूर्ण, भयरहित र मर्यादित वातावरणमा सम्पन्न भएको भन्दै सम्पूर्ण मतदाता तथा नागरिकप्रति धन्यवाद व्यक्त गरिएको जानकारी दिएका छन् ।
उक्त बैठकले निर्वाचनले लोकतन्त्र र गणतन्त्रलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरेको क्षेत्रीय सभापति केसीले बताए । निर्वाचनलाई लोकतान्त्रिक प्रणालीको आधारस्तम्भका रूपमा लिँदै हार–जितलाई स्वाभाविक परिणामका रूपमा स्वीकार गर्नुपर्ने र जनादेशलाई सबै पक्षले सम्मान गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।
साथै नयाँ राजनीतिक शक्तिको उदयलाई स्वीकार गर्दै जनअपेक्षा अनुसार सुशासन, विकास र स्थायित्व प्रदान गर्नु नेतृत्व पंक्तिको प्रमुख जिम्मेवारी भएको बैठकले ठहर गरेको केसीले बताए । बैठकले संसदको दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेसले सरकारका सकारात्मक कार्यमा सहयोग र गलत प्रवृत्तिविरुद्ध रचनात्मक खबरदारी गर्नुपर्ने धारणा पनि अघि सारेको छ ।
निर्वाचन परिणामबारे आत्मसमिक्षा गर्दै अपेक्षित सफलता हासिल गर्न नसकेको यथार्थ स्वीकार गरिएको र विगतका कमजोरी सुधार गर्दै संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । बाँके क्षेत्र नम्बर १ को परिणामबारे बैठकले निर्वाचित प्रतिनिधि सुरेशकुमार थारूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
साथै कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति नारायणप्रसाद गौडेललाई मत दिने मतदाताप्रति आभार व्यक्त गरिएको छ । प्रत्यक्षतर्फ उम्मेदवारले समानुपातिक भन्दा बढी मत ल्याएको तथ्यलाई सकारात्मक रूपमा लिँदै मत कम आउनुका कारणहरूको समीक्षा गर्ने निर्णय गरिएको छ ।
बैठकले पराजयका कारण पनि औंल्याएको छ । पार्टी संगठन बलियो हुँदा हुँदै पनि देशभरी नयाँ शक्तिप्रति आएको लहर, पार्टीका नेताहरुले गरेका गल्ती कमी कमजोरीका साथै पार्टीले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्नेतर्फ प्रभावकारी कदम चाल्न नसक्नु, स्थानीय तहका केही जनप्रतिनिधिमा व्यक्तिवादी प्रवृत्ती हावी हुनु, जनतासँग घुलमिल हुन नसक्नु तथा जनताबाट टाढिनु, जनभावना अनुसार सुशासन कायम गर्न नसक्नु, संघीय सरकारले सुरु गरेका लोककल्याणकारी कामको सञ्चालनमा अवरोध गर्नु, भ्रष्टाचार न्यूनिकरणमा कमजोरी तथा स्थानीय तहमा अवसर पाएका व्यक्तिहरूलाई निर्वाचनमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु जस्ता पक्षहरूलाई मुख्य कारणका रूपमा औंल्याएको उनले बताए ।
फागुन २६ गते कोहलपुरमा आयोजित समिक्षा बैठकमा केही नेता-कार्यकर्ताबाट भएको अभद्र तथा उच्छृंखल गतिविधिप्रति दुःख व्यक्त गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षलाई पार्टीको मर्यादा अनुरूप व्यवहार गर्न आग्रह गरिएको केसीले जानकारी दिए । त्यसैगरी प्रदेशसभा “ख” का सभापति बलराम शर्मामाथि लगाइएका आरोपलाई बैठकले निराधार ठहर गर्दै उनीप्रति सम्मान व्यक्त गरिएको र उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको केसीले बताए ।
साथै आरोपका कारण शर्मालाई परेको मानसिक पीडाप्रति सहानुभूति व्यक्त गरिएको छ । बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई सफल बनाउन योगदान पुर्याउने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज, पर्यवेक्षक तथा अन्य सरोकारवालाप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्ने निर्णय गरेको केसीले जानकारी दिए । बैठकमा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्रका सभापति, पालिका सभापति, ३० वडाका सभापतिको पनि उपस्थिती रहेको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए ।