नेपालगन्ज : बाँके जिल्लामा आगामी चैत १९ गते हुन गइरहेको एस.ई.ई. परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। सञ्चार संवादद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यसवर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, सुरक्षित र पारदर्शी बनाइएको जानकारी दिए ।
डा. डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौलागाईंले जिल्लाको परीक्षा सम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्दै यस वर्ष कुल ९ हजार ६८३ विद्यार्थी एस.ई.ई. परीक्षामा सहभागी हुने बताए । उनका अनुसार नियमित तर्फ ७ हजार ९८१ विद्यार्थी सहभागी हुनेछन् भने ग्रेड वृद्धि (ग्रेड इम्प्रुभमेन्ट) तर्फ १ हजार ७०२ विद्यार्थी रहेका छन्।
विषयगत रूपमा हेर्दा प्राविधिक धारमा २७० र साधारण धारमा ७ हजार ७११ विद्यार्थी परीक्षा दिनेछन्। त्यस्तै, परीक्षा सञ्चालनका लागि जिल्लाभर ३६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जसमा २८ सामुदायिक र ८ संस्थागत विद्यालय समावेश रहेका छन्। परीक्षा केन्द्र निर्धारण गर्दा भौगोलिक सहजता, पूर्वाधार र सुरक्षा अवस्थालाई प्राथमिकता दिइएको चौलागाईंले बताए ।
परीक्षा शान्त, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी व्यवस्था मिलाइएको छ। प्रश्नपत्र चुहावट, नक्कल तथा अन्य अनियमितता रोक्न विशेष रणनीति अपनाइएको छ, भने कुनै पनि प्रकारको गल्ती पाइएमा तत्काल कारबाही गरिने स्पष्ट गरिएको छ। परीक्षा सञ्चालनमा खटिने निरीक्षक, सुपरिवेक्षक र केन्द्राध्यक्षहरूको छनोट योग्यता र अनुभवका आधारमा गरिएको छ। साथै, शिक्षकहरूलाई परीक्षा सञ्चालन सम्बन्धी आवश्यक अभिमुखीकरण प्रदान गरिएको छ।
विद्यार्थीहरूको मानसिक दबाब कम गर्न परामर्श कार्यक्रम सञ्चालन गरिएको छ भने अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष सुविधा र दुर्गम क्षेत्रका विद्यार्थीका लागि आवश्यक सहुलियतको व्यवस्था गरिएको जनाइएको छ। विगतका कमजोरीहरूलाई सुधार गर्दै यस वर्ष अझ कडाइका साथ परीक्षा सञ्चालन गरिने बताइएको छ । दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर सुधार, शिक्षक तालिम र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीलाई प्राथमिकतामा राखिएको छ।
कार्यक्रममा अभिभावक र समाजलाई विद्यार्थीमाथि अनावश्यक दबाब नदिन र सकारात्मक वातावरण सिर्जना गर्न आग्रह गरिएको थियो । समापनमा विद्यार्थीहरूलाई सन्देश दिँदै चौलागाईंले भने, 'डर होइन, आत्मविश्वासका साथ परीक्षा दिनुहोस्। तपाईंहरूको मेहनतले नै सफलता सुनिश्चित गर्छ।'
