नेपालगन्ज : नेपालगन्ज-३, एकलैनीकी शाहिदा शाहको घरमा बक्राईदको रौनक छ । ‘इद-उल-अजहा’ अर्थात् बक्राईद मनाउन आफन्तहरु घरमा जम्मा भईसकेका छन् । अल्लाह (भगवान)लाई कुर्बानी (बलि) दिने खसी पनि तयार गरिएको छ । घरदेखी टोल छिमेकसम्म बेग्लै खालको रौनकता देखिन्छ । बक्राईदका लागि आफन्त र साथीहरुलाई उनको परिवारका सदस्यले निम्तो (दावत्) दिइसकेका छन् ।
हरेक वर्ष बक्राईदमा साहिदाले गैरमुस्लिम समुदायका आफ्ना साथीहरुलाई पनि घरमा बोलाउँछिन्, भने दसै, दिपावली, होली जस्ता चार्डपर्वमा हिन्दु समुदायका साथीहरु कहाँ निम्तो मान्न जान्छिन् । सामाजिक अगुवा साहिदा यस्ता चाडपर्वले आपसमा ‘सद्भाव’ बढाउने विश्वास गर्छिन् ।
‘हरेक दशै, तिहार र होली जस्ता चार्डमा हिन्दु समुदायका साथीहरुले मलाई निम्तो दिनुहुन्छ, ईद, बक्राईद र मोहर्रम जस्ता चार्डपर्वमा हिन्दु समुदायका साथीहरुलाई मैले निम्तो दिन्छु, हामीहरु आपसमा मिलेर चार्डहरु मनाउँछौं,’ उनी भन्छिन्, ‘चाडपर्व भनेको आपसी सद्भाव बढाउने माध्यम पनि हो ।’
मुस्लिम अगुवाका अनुसार ‘इब्राहिम अले सलाम’ जसलाई सपनामा अल्लाह (भगवान) बाट एउटा सन्देश आयो । अल्लाहले सपनामा उनलाई ‘आफ्नो सबैभन्दा प्रिय वस्तु मलाई कुर्बानी (बलि) देउ’ भनेका थिए । त्यसपछि इब्राहिमले सपनामै आफ्नो छोरालाई कुर्बानी दिन शरिरमा छुरा रोपेका थिए । तर, भोलिपल्ट विपनामा भने उनको छोरालाई केही नभएर आफुसँग घरमा रहेको भेडा मर्यो । सोही घटनाको सम्झनामा मुस्लिम समुदायले बक्राईद मनाउन थालिएको बताइन्छ ।
मुस्लिम समुदायमा यही पर्वको अवसरमा खसी, भेडा लगायत विभिन्न जनावरको बलि चढाइन्छ, भने सेवई लगायतका परिकारहरु पनि पकाउने चलन छ । तीन दिनसम्म मनाइने बक्राईदको अघिल्लो दिन ‘चाँद’ अर्थात् चन्द्रमा हेरिन्छ । त्यसपछि साँझ ‘अर्फाद’ को रोजा(ब्रत) बसिन्छ । भोलिपल्ट बक्राईदको दिन बिहानै उठी नुहाएर शुद्ध भईन्छ । यस्तै नयाँ (शुद्ध) कपडा लगाएर ईदगाह वा मस्जिदमा पुगी सामुहिक नमाज पढिन्छ ।
त्यसपछि एकअर्काले अंकमाल गरेर शुभकामना आदन-प्रदान गर्ने चलन रहेको छ । सामुहिक नमाज पढेर घरमा आईसकेपछि खसी, भेडा लगायतलाई कुर्बानी गरिन्छ । मुस्लिम समुदायले प्रयोग गर्ने उद्र्धु भाषामा खसीलाई ‘बक्रा’ भन्ने गरिन्छ । सोही आधारमा यस पर्वको नाम बक्राईद रहन पुगेको मुस्लिम अगुवा बताउँछन् । ‘कुर्ब’ भनेको निकटता अर्थात् अल्लाहसँग नजिक हुनका लागि खसीको कुर्बानी दिइन्छ ।
कुर्बानी गरेको खसीको मासुलाई तीन भागमा बाँडिन्छ । तीन भागमध्ये एक भाग घरमा, अर्को भाग आफन्त तथा ईष्टमित्र र अर्को भाग गरिब तथा असहायलाई बाँड्ने चलन छ । ‘घरमा खसीको कुर्बानी गरिसकेपछि आफन्त, ईष्टमित्र, छोरीचेलीलाई बोलाएर खुवाउँछौं, यो चार्ड मनाउने क्रम तीन दिनसम्म चल्छ र तीन दिनसम्म हामी खसीको कुर्बानी दिन्छौं,’ नेपालगन्ज-११ का ८४ वर्षीय रसिद खाँले भने ।
ईद मनाउने क्रममा आफन्त, ईष्टमित्र, साथीहरु कहाँ आफुहरु पुग्ने र उनीहरुलाई पनि बोलाएर घरमा खुवाउने चलन परापुर्व कालदेखी चल्दै आएको खाँ सुनाउँँछन् । ‘बक्राईद हाम्रो समुदायको दोस्रो ठुलो (तिउहार) चार्ड हो, यो कुर्बानीको पर्व पनि हो,’ उनले थपे ।
उनका अनुसार ईस्लाम धर्मशास्त्रमा बक्राईदका लागि जो ब्यक्ती आर्थिक रुपले सक्षम र सबल छ, अर्थात् जसको बलियो हैसियत छ, उसलाई मात्र कुर्बानी गर्न छुट दिइएको छ । तर, गरिब तथा असहायका लागि कुर्बानी गर्न कुनै बाध्यकारी छैन ।
मुस्लिम समुदायका अनुसार अल्लाहलाई खुसी पार्नका लागि कुर्बानी गर्न थालिएको विश्वास गरिन्छ । ‘पछिल्लो समयमा कुर्बानी दिने नाममा आपसमा प्रतिस्पर्धा र देखासिकी गर्ने प्रवृत्ती बढेको छ, सबैले आफ्नो घमण्डलाई त्याग्नुपर्छ, यो आत्मशुद्धिको पर्व पनि हो,’ नेपालगन्ज-११ का ६० वर्षीय मोहम्मद हुसेन भन्छन्, ‘आफुसँग भएका नराम्रा कुरालाई छाड्नुपर्छ भन्ने यो पर्वले सन्देश दिएको छ ।’