बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सहिद बैजनाथ थारुको आवाजलाई पूर्णता दिन किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याइएको बताएका छन् । गाउँपालिका कार्यालय परिसरमा शुक्रबार बैजनाथ-७ का किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गर्दै उनले यस्तो बताएका हुन् ।
किसानका मुद्धालाई उठाएर राणा शासन विरुद्ध लड्दा-लड्दै बैजनाथ थारु सहिद भएको स्मरण गर्दै अध्यक्ष शाहीले स्वर्गिय सहिदको आवाजलाई पूर्णता दिनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखी निरन्तर रुपले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको प्रष्ट्याए ।
किसानसँग पालिका प्रमुख कार्यक्रम आफु नेतृत्वमा रहुञ्जेल आर्थिक वर्ष २०८३/०८४ सम्म चल्ने बताए । ‘स्वर्गिय बैजनाथ थारु वडा नम्बर ७ कै स्थानीय बासिन्दा हुनुहुन्थ्यो, उहाँले किसानको अधिकारका पक्षमा आवाज उठाउनु भयो, तत्कालिन राणा शासन विरुद्ध उहाँले बलिदानी दिनुभएको थियो,’ अध्यक्ष शाहीले भने, ‘उहाँकै सम्मानमा बैजनाथ सरकारले किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याएको हो ।’
बैजनाथमा ७० प्रतिशत जनताहरु कृषी र पशुपालन ब्यवसायमा आवद्ध रहेकाले किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याउनु परेको उनले प्रष्ट्याए । कार्यक्रममार्फत किसानलाई यान्त्रीकरणसँगै कृषी र पशुपालनमा ७० प्रतिशत र पूर्ण अनुदानमा जोडिएको अध्यक्ष शाहीले जानकारी दिए ।
कार्यक्रममार्फत चालु आर्थिक वर्षको बजेटबाट किसानलाई मिनी टिलरसहित चारा मेसिन, दुध बोक्ने क्यान, बिद्युतीय डिजिटल तराजु, काउम्याट, उन्नत जातका बोका, बीउ लगायत वितरण गरिएको छ । केही दिनमै किसानलाई पावर टिलर, पम्पसेट, डेलिभरी पाईप, ईलेक्ट्रिक रिक्सा लगायत सामाग्री वितरण गरिने बताइएको छ ।
गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत ७० प्रतिशत अनुदानमा चालु वर्ष २०८२/०८३ मा मात्रै कुल २ सय ३ जना किसानलाई मिनी टिलर वितरण गरेको छ । गाउँपालिका कृषी शाखाका नायव प्राविधिक सहायक सचिन मेघनाथका अनुसार शुक्रबार एकैदिन बैजनाथ–७ र ८ का ७० जना किसानलाई मिनी टिलर वितरण गरिएको छ । यसअघि वडा नम्बर १, २, ३, ४, ५ र ६ का किसानलाई मिनी टिलर वितरण गरिएको थियो ।