काठमाडाैं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १४ जनालाई दोषी ठहर गरेको छ । ७ जनाले यो मुद्दामा सफाइ पाएका छन् पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहितले दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत फैसला सार्वजनिक गर्दै दोषी ठहर भएका कसुरदारहरूलाई सजाय निर्धारणका लागि आगामी असार २९ गतेको पेसी तोकेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाको संक्षिप्त आदेशमा प्रतिवादीहरूको कसुरको प्रकृति वर्गीकरण गरिएको छ।
अदालतले मुख्य आरोपितसहित केहीलाई संगठित अपराध, ठगी र राज्यविरुद्धको कसुरमा मूल कसुरदार ठहर गरेको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ६ जनालाई ‘मतियार’ का रूपमा मात्र दोषी ठहर गरेको छ। यस्तै, अर्का चर्चित प्रतिवादी बेचन झालाई भने संगठित अपराध र राज्यविरुद्धको कसुरबाट सफाइ दिँदै ‘ठगी उद्योगमा मात्रै दोषी ठहर गरेको छ।
अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नीतिगत निर्णयको त्रुटि र अनधिकृत संवादका आधारमा संगठित ठगी र संगठित अपराधको कसुरमा ‘मतियार’ ठहर गरेको छ। मुख्य कसुरदारका रूपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र आङटावा शेर्पालाई संगठित रूपमा ठगी, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर गरिएको छ।
सरकारी लिखत किर्तेतर्फ भने पूर्वगृहसचिव पाण्डे र पूर्वगृहमन्त्री खाँणसहित अधिकांशले सफाइ पाएका छन्। किर्तेको कसुरमा शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारी मात्र दोषी ठहर भएका छन्। यस प्रकरणका अर्का प्रतिवादी बेचन झाको हकमा अदालतले संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा वादी नेपाल सरकारको अभियोग दाबी नपुग्ने फैसला गरेको छ।
झालाई ठगी कसुरको उद्योग गरेको कसुरमा मात्रै दोषी ठहर गरिएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने ठगी तथा संगठित अपराधमा मतियारका रूपमा मात्र कसुरदार ठहर गरिएको छ।अदालतले मुद्दाका ३० प्रतिवादीमध्ये ७ जनालाई सम्पूर्ण अभियोगबाट पूर्ण सफाइ दिएको छ। सफाइ पाउनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
सन्दीप रायमाझीको हकमा लियोन ट्रेडरमार्फत भएको कारोबार व्यापारिक देखिएको र प्रतीक थापाको हकमा प्रमाणहरू खण्डित भएकाले सफाइ दिइएको अदालतको फैसलामा उल्लेख छ। लामो समयदेखि फरार रहेका प्रतिवादीहरू अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता साउदेन लिम्बु र सुनिल बुढाथोकीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९८ बमोजिम मुद्दा मुलतवीमा राख्ने निर्णय गरिएको छ।
दोषी ठहर भएका सबै प्रतिवादीहरूको कसुरको मात्रा र भूमिकाका आधारमा तोकिने सजाय निर्धारणका लागि असार २९ गते विशेष सुनुवाइ हुनेछ। सो सुनुवाइ अगावै जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई सजाय पूर्वको प्रतिवेदन पेस गर्न अदालतले निर्देशन दिएको छ।