काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापासँग मिल्ने सम्भावना सकिएको पार्टीका पूर्वसभापति शेरबहादुर देउवा समूहले ठहर गरेको छ । पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने उक्त समूहको योजना छ । उक्त भेलामा आगामी रणनीतिबारे छलफल गरिने बताइएको छ ।
भेला यही साउन २४ देखि २९ गतेको बीचमा राख्ने तयारी भएको नेता मीनबहादुर बिश्वकर्माले बताए । उनका अनुसार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षको नेतृत्व गरिरहेका निर्वतमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले देउवा समूहका शीर्ष नेताको बैठक बोलाएका थिए ।
उक्त बैठकमा तीन विषयमा छलफल भएको नेता विश्वकर्माले सुनाए । उनका अनुसार बैठकमा बिपी स्मृति दिवसको तयारी, पार्टी एकताको लागि गठित समिति र सुदृढीकरणबारे र आगामी रणनीतिबारे छलफल भएको छ । ‘पार्टी मिल्ने लक्षण अब ९९ प्रतिशत देखिन्न,’ उनले भने, ‘सहमतिको लागि संस्थापन पक्षबाट वार्ताको कुनै प्रयास भएन, हामी त बाहिर छौँ के गर्न सक्छौँ र ?’ सभापति थापाले पार्टीलाई मिलाउन नचाहेको नेता विश्वकर्माको आरोप छ ।
संस्थापन पक्षलाई नै मिल्न मन नलागेको हुनसक्ने देउवा समूहको आशंका छ । पार्टीको नाम, चुनाव चिन्ह लगायत विषयमा पनि विस्तारै छलफल हुने देउवा समूहले जनाएको छ । ‘नयाँ बाटो जाने, त्यसका लागि सम्पूर्ण तयारीका लागि छलफल गर्छौ, नीति, नेतृत्व, सांगठनिक संरचना, वैधानिक, कानुनी व्यवस्था सबै कुरा अब अगाडि बढ्छ,’ विश्वकर्माले थपे ।