नेपालगन्ज : नेपाली कांग्रेसका नेताहरुले आपसी मतभेदलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प नभएकोमा जोड दिएका छन ।
नेपाली कांग्रेसका पुर्वसभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय वीपी कोइरालाको ४४ औं स्मृति दिवस तथा नेपाली कांग्रेसले २०८३ बैशाख १ गतेदेखी सुरु गरेको जरा अभियान समापन कार्यक्रमलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै उनीहरूले यस्तो कुरामा जोड दिएका हुन् ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चारतारे झण्डा र रुखमा कांग्रेसका समग्र कार्यकर्ताको भविष्य जोडिएको बताए । पार्टीभित्र एक अर्काबीच बैचारिक मतभेद भएपनि अन्ततः चारतारे झण्डा र रुखमुनि सबै रहनुपर्नेमा उनले जोड दिए । एक अर्काबीचका मतभेदलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाउन नेता तथा कार्यकर्तालाई सभापति पुनले आग्रह गरे ।
स्वर्गिय वीपी कोइराला सहितका नेताहरुले ठुलो त्याग र तपस्या गरेर बनाएको पार्टीको कार्यकर्ता हुन पाउनुमा आफैमा गर्वको कुरा भएको भन्दै संविधान सभा सदस्य समेत रहेका प्रदेश सभापति पुनले यताउता नसोचेर चारतारे झण्डा र रुख चिन्हमा गोलबद्ध हुन आग्रह पनि गरे ।
‘पार्टीभित्र मतभेद होलान्, तर यताउता नसोचेर हामी चारतारे झण्डा, यही रुख र यही समाजलाई सम्झेर पार्टीलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्छ,’ उनले भने, ‘बाँके कांग्रेसलाई पनि एक ढिक्का बनाउन म आग्रह गर्छु ।’
यस्तै नेपाली कांग्रेसका पुर्वकेन्द्रिय सदस्य एवम् जरा अभियानका लागि बाँकेमा खटिएका केन्द्रिय प्रतिनिधि महेन्द्रराज शर्माले पार्टी भित्र सोच र शैली बदल्न जरुरी रहेको बताए । क्रियाशिल सदस्यता अध्यावधिक गर्नु पार्टीका सबै सद्को उत्तिकै जिम्मेवारी रहेको उनको भनाई छ । वडा सभापति र पालिका सभापतिले रोकेर क्रियाशिल सदस्यताको अध्याबधिक नरोकिने उनले प्रष्ट पारे ।
पार्टीमा नयाँ पुस्तालाई ल्याउन क्रियाशिल सदस्यता अध्यावधिक गर्न जरुरी रहेको शर्माले बताए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय प्रतिनिधि उमा रावतले पनि सम्बोधन गरेकी थिइन ।
कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन जिल्ला सचिव सुधान्सु कोइरालाले गरेका थिए ।