नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरिएको छ । नेपालगन्जमा बिहीबार नागरिक सरोकार मञ्च बाँकेले आयोजना गरेको ४८ औं स्मृति दिवस कार्यक्रममा बोल्ने बक्ताले नेपाली स्वर्गिय नेता पुष्पलालबाट कम्युनिष्टहरुले धेरै कुरा सिक्न जरुरी रहेको बताए ।
नेकपा एमालेका पुराना नेता बाबुराम गौतमले नेपाली कम्युनिष्टहरु पुष्पलालको आर्दश र सिद्धान्त भन्दा बाहिर गइरहेको टिप्पणी गरे । लुम्बिनी प्रदेशका पुर्वसांसद समेत रहेका नेता गौतमले भने, ‘खास कम्युनिष्ट बन्नको लागि त्याग, सर्मपण र बलिदान हुनुपर्छ, तर अहिले कम्युनिष्टको नाम लिएर पैसाको पछाडी दौडिने प्रवृत्ती बढेको छ, कमरेड पुष्पलालको सिद्धान्त यो होईन ।’
स्वर्गिय पुष्पलालको सिद्धान्त र विचार अनुसार अहिलेका कम्युनिष्ट नेताहरु चल्न नसकेको उनको दुखेसो छ । ‘हामी कम्युनिष्टहरु गरिबलाई दिन भनेर आएका हौं, तर हामी सबैलाई धनी हुनुपर्यो, यो ढंगले जान खोज्यौ भने फेरि कम्युनिष्ट एकता हुदैन,’ नेता गौतमले भने । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ एवम् पुर्वउपसभामुख पुर्णाकुमारी सुवेदीले स्वर्गिय पुष्पलालको कम्युनिष्ट विचार प्रतिको समर्पण र त्याग अविष्मरणीय रहेको बताइन् ।
‘कमरेड पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्नु भएको छ,’ उनले भनिन्, ‘उहाँको सर्मपण र त्याग पनि एउटा शक्ती हो, दश वर्षको जनयुद्धको जित पनि एउटा समर्पण हो ।’ पुर्वउपसभामुख सुवेदीले फेरिपनि कम्युनिष्ट शक्तीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको उद्घोष गरिन् । ‘बामपन्थी शक्तिलाई कसैले पनि हराउन सक्दैन, अहिलेको आवश्यकता अनुसार पनि बामपन्थी शक्तिहरु एक ढिक्का हुनुपर्छ, फेरिपनि बामपन्थीहरु एक हुन जरुरी भईसकेको छ,’ उनले थपिन् ।
नेपाली कम्युनिष्ट पार्टीका पुराना नेता तिलक परियारले स्वर्गिय नेता पुष्पलालको आदर्शबाट आफु पनि प्रभावित रहेको बताए । अब पनि बामपन्थी शक्तिहरु एकढिक्का हुन आवश्यक रहेको उनको भनाई छ । कर्णाली प्रदेशका पुर्वप्रदेश प्रमुख रहेका नेता परियारले कम्युनिष्टहरु मिलेर अगाडी बढ्नु नै स्वर्गिय पुष्पलालप्रतिको सच्चा सम्मान रहने बताए । ‘अहिले यो बेलामा फेरी पनि कम्युनिष्टहरु मिलेर जानुपर्ने आवश्यकता खड्किएको छ,’ परियारले थपे । कुनैबेला आफुले स्वर्गिय पुष्पलालबाट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएको स्मरण गरे ।
कार्यक्रममा कम्युनिष्ट अगुवा मधुसुदन शर्मा रिजालले कार्यक्रम गर्नुको उद्देश्यबारे बारेमा अवगत गराएका थिए । उक्त कार्यक्रममा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसहित विभिन्न कम्युनिष्ट विचार राख्ने दल तथा संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।