नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले आफ्नो स्थापनाको १३६ औं वर्ष पूरा गरेको छ । १३६ औँ वार्षिक उत्सवका अवसरमा अस्पतालले मंगलबार औपचारिक समारोह गरेको छ ।
अस्पताल विकास समितिका कार्यबाहक अध्यक्ष डक्टप्रसाद धितालको सभापतित्वमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम प्रतिनिधि सभाका सांसद मोहम्मद ईश्तियाक राईले अस्पतालको विकासमा पश्चिम क्षेत्रका सांसदहरुको सामुहिक पहल हुनुपर्ने बताए ।
'भेरी अस्पतालका लागि विगतमा मन्त्री हुँदा जति गर्नुपर्ने हो, मैले गरेको हुँ,' राईले कैलालीका सांसद केपी खनाललाई अनुरोध गर्दै भने, 'अहिले सरकार तपाईंहरुको पार्टीको छ, स्वास्थ्य मन्त्री तपाईंकै हुनुहुन्छ, भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकहरुको उपचार गर्ने प्रमुख केन्द्र भएको हुँदा यो अस्पतालको विकासमा संयुक्त रुपले पहल गरौं ।' विगतमा आफुले पहल गरेर भेरी अस्पतालका लागि ३ अर्ब २५ करोड बजेट पार्न सफल भएपनि सरकार परिवर्तन हुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको राईले सुनाए ।
वार्षिक उत्सव समारोहमा कैलालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद एवम रास्वपाका नेता केपी खनालले लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका अस्पतालको स्तर उन्नतीका लागि सामुहिक रुपमा पहल गर्ने प्रतिबद्धता जनाए ।
सो क्रममा प्रतिनिधि सभाका सांसद सुरेशकुमार चौधरी, लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार मन्त्री रत्न खत्री, लुम्बिनी प्रदेश सभाका सांसद तथा सार्बजनिक लेखा समितिका सभापति माया पुन लगायतले बोलेका थिए । उक्त कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले अस्पतालको स्थापनाकालदेखि हाल सम्मको आरोह-अवरोहबारे अवगत गराएका थिए ।
वार्षिक उत्सव समारोहमा अस्पतालका उत्कृष्ट र २५ वर्ष सेवा पूरा गरेका डा. निर्माण शाह सहितका कर्मचारीलाई सम्मान, स्मारिका विमोचन तथा नृत्य, नाटक प्रस्तुत गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारले 'समता भवन' बनाइदिने
यसैबीच भेरी अस्पतालका लागि ५० शैयाको समता भवन बन्ने भएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट यस्तो घोषणा गरेका हुन् ।
उनलेे भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । चालु २०८३/०८४ मा अस्पतालका लागि ५० शैयाको समता भवन निर्माण गर्ने र यसबाट आमा तथा शिशु मृत्युदर न्युनिकरणमा टेवा पुग्ने विश्वास गरे ।