काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि आवश्यक सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका छन्।
सांसद सुनारले प्रहरीका जुत्ता, मोजा, लत्ताकपडादेखि लाठी तथा भाटा खरिदसम्ममा अनियमितताको प्रश्न उठेको भन्दै सार्वजनिक खरिद प्रक्रियाको गम्भीर छानबिन गर्नुपर्ने बताए। जनताले आफूहरूलाई भ्रष्टाचार नियन्त्रण र सुशासनको नेतृत्व गर्न संसद्मा पठाएको उल्लेख गर्दै उनले सुरक्षा निकायका सामग्री खरिदमा हुने अनियमिततामा आफूहरू मौन बस्न नसक्ने बताए।
सांसद सुनारले ठेकेदार छनोट प्रक्रियामै अनियमितता भएको हुनसक्ने भन्दै प्रहरीसँग निकट सम्बन्ध भएका व्यक्तिहरू ठेक्का प्रक्रियामा संलग्न भए–नभएको अनुसन्धान गर्नुपर्ने बताए। प्रहरीमा लेखा तथा अन्य जिम्मेवारीमा काम गरिसकेका व्यक्ति अवकाशपछि पुनः ठेकेदार बनेर प्रहरीसँग कारोबार गरिरहेका भए त्यसको समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
‘जुत्ता खरिदमा भ्रष्टाचार हुन्छ, मोजा खरिदमा भ्रष्टाचार हुन्छ भने त्यसको जवाफ दिनुपर्छ । एउटा गरिबको छोरा सिपाही भएर आउँछ, उसको जुत्ता, मोजा र कपडामै बदमासी गर्न पाइँदैन,’ उनले भने।
प्रहरीका सामान खरिदमा विवाद उठेको यो पहिलोपटक नभएको उल्लेख गर्दै सुनारले विगतमा समेत खरिदसम्बन्धी विषयमा प्रहरीका उच्च अधिकारीमाथि कारबाही भएको उदाहरण रहेको बताए। यस्ता घटनाले नेपालको सुरक्षा संगठन अन्तर्राष्ट्रियस्तरमै बदनाम हुने अवस्था सिर्जना गरेको उनको दाबी थियो। उनले प्रहरी प्रमुखको घरमा भएको चोरीको घटनालाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताए।