काठमाडौं : स्वास्थ्य उपचारपछि झण्डै पाँच महिनामा स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। स्वदेश फर्किएपछि दिएको सन्देशमा देउवाले कांग्रेसभित्रको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने उनले बताएका छन् । देउवाले युवा पुस्ताले माग गरेको परिवर्तनलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै परिवर्तनको प्रक्रियालाई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने बताए।
उनले वर्तमान सरकारले जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्नुपर्ने भन्दै ताजा जनमतको सम्मान गर्न आग्रह गरे। संविधानको संरक्षण तथा आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने उनको भनाइ छ। कांग्रेसको लामो राजनीतिक विरासतलाई स्मरण गर्दै देउवाले पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै असर पार्न सक्ने चेतावनी दिए।
आफूले विगतको राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि उनले बताए । देउवाले अन्त्यमा भनेका छन्, ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु।’ उनले प्रतिशोधको बाटो त्यागेर मेलमिलाप र सहकार्यबाट समुन्नत नेपाल निर्माण गर्न आह्वानसमेत गरेका छन्।
देउवाको सन्देश:
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर म पुनः यस पुण्यभूमिको काखमा उपस्थित हुन पाउँदा मेरो हृदय गहिरो भावनाले भरिएको छ। हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन् । सर्वप्रथम मेरो स्वास्थ्य बारे चासो, चिन्ता राख्ने र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु।
म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु- सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन । कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु।
आज आफ्ना अनुभूति र अनुभवका गहिराइबाट केही विचारहरू साझा गर्न चाहन्छु।
१. म हाम्रो साझा राष्ट्रिय दायित्वप्रति गहिरो सम्मान व्यक्त गर्दै फर्किएको छु। नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र होइन यो दशकौँको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी पनि हो। हामीले यस राष्ट्रको स्वतन्त्रता र लोकतन्त्रका लागि रगत बगाएका छौँ। नेपाली कांग्रेसको यो लामो संघर्षपूर्ण यात्रामा एउटा यात्रीको रुपमा विभिन्न कालखण्डमा सहभागी हुन पाएकोमा म आफूलाई गर्व अनुभूत गर्दछु।
२०२० सालदेखि निरन्तर राजनीतिका दुख सुख र संघर्षपूर्ण दिनहरु अझै पनि मेरो मानस पटलमा ताजा छन्। अहिले मुलुकले उपभोग गरेको स्वतन्त्रता, लोकतन्त्र र विकासमा कही न कही सहभागी हुन पाएकोमा म उच्च गर्व गर्दछु।
विगतमा हाम्रा नेताहरू बीपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हाम्रा अग्रजहरूको त्याग र योगदान हामीले कहिल्यै भुल्न हुँदैन। त्यो विरासत गौरवको पदक होइन, जनताको विश्वासका रूपमा हामीले वहन गरिरहेको पवित्र जिम्मेवारी हो।
२. मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु। म स्पष्ट रूपमा भन्न चाहन्छु- नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ। विश्व बदलिएको छ र, हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौं। मैले समाजका सबै वर्ग, सबै समुदाय र सबै पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्ने काममै सधैँ नेतृत्व गरेँ, किनकि भविष्य ती हातहरूको हो जसले राष्ट्र निर्माण गर्नेछन्।
यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ।
परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग बलिदान र संर्घष खराब थियो भन्ने होइन। हाम्रो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रा, विभिन्न जातजाति, क्षेत्र, समुदायको अधिकारका लागि लड्नुपर्यो। मुलुकमा पद्धति बनाउन समय खर्चिनुपर्यो। विगतका यी ऐतिहासिक कामलाई नकरात्मकता फैलाउने भाष्य कोही पनि सच्चा नागिरकका लागि स्वीकार्य हुँदैन। केही कमीकमजोरी भए होलान्, तर त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो हुन आवश्यक छ। लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ।
हामी हाम्रो राजनीतिक यथार्थको जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्छौं। म कुनै बहाना प्रस्तुत गर्दिनँ, केवल सत्य स्वीकार गर्दछु। हामी जनताको इच्छालाई सर्वोच्च मान्दै प्रत्येक जनादेश र लोकतन्त्रलाई दिशा दिने प्रत्येक आवाजको सम्मान गर्दै अघि बढ्नेछौँ।
३. परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन, यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठुलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो। आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह/पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारूढ दल र मुलुककै लागि हितकर हुँदैन। त्यसैले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ। ताजा जनमतबाट उदाएको सत्तारूढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन।
त्यसैले हामी परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार छौँ। हामी अन्धाधुन्ध दौडिने छैनौँ; विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौँ।
४. नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो। सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नु पर्नेछ। वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको हो, यसको संरक्षण गर्ने र संशोधन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा गर्नु पर्दछ।
अंकगणितीय रूपमा संसद्मा नेपाली कांग्रेस सानो ठुलो भयो होला, तर २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको हरेक खुट्किलोको नेतृत्वकर्ता हो- कांग्रेस। अहिले नेपाली कांग्रेसमा देखिएको असहमित र निराशा तुरुन्तै समाधान हुनुपर्छ। मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ। तसर्थ आम नेपाली कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदातालगायत आम नेपाली जनतामा कांग्रेस सामुहिकतामा विश्वास गर्ने पार्टी हो, सोही नीतिअनुसार सबैको त्याग बलिदान र संर्घषलाई स्वीकार गरेर अघि बढ्न म अपिल गर्न चाहन्छु। नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।
युवा साथीहरू अघि बढ्नुपर्छ तर त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्युजको पछाडिभन्दा पनि नेपाली कांग्रेसको दायित्व नबिर्सिन आम नेता कार्यकर्ताहरुमा अनुरोध गर्न चाहन्छु।
मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ र त्यो अनुभव नयाँ पुस्तालाई सेयर गर्नु मेरो दायित्व पनि हो।
नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन। पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एकपटक जोड्नु पर्ने समय आएको छ। त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल पनि गर्न चाहन्छु।
विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ। मलाई विश्वास छ- त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु।
हामी आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध छौँ। यदि हामी कतै विचलित भएका छौँ भने सुधार गर्नेछौँ, यदि कतै चुक्यौँ भने पुनः उठ्नेछौँ। हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।
अन्तमा,
म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु। २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घघोष गर्नुभएको थियो । मलाई लाग्छ- फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।
आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ। यस्तो नेपाल निर्माण गरौं जहाँ प्रत्येक बालकले निर्भिक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।
सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुने गर्दछन्। मैले सधैँ भन्ने गरेको छु- मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु। कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो। म प्रतिज्ञा गर्दछु- अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र मुलुक र जनताको सर्वोत्तम हित, संविधान कानुन र नैतिकता मूल्यमान्यताअनुरूप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन।
म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु- विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर। जय नेपाल।

