काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विमति हल गर्न अदालतको ढोका कुरेर बस्ने समय अहिले नभएको बताएका छन् । महामन्त्री पौडेलले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएका विमतिहरू संवादबाटै हल गर्नुपर्ने बताएका हुन् ।
संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारी गरिरहेका बेला पौडेलले अपिलमा भनेका छन्, ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनु हुँदैन। राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।’
सबै असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई फरक विचारलाई बोकेर पार्टी केन्द्रीय कार्यालय आउन उनले आग्रह गरेका छन्। ‘तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो। सानेपामा बसेर मनैदेखि संवाद गरौं । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ। आगामी १५ औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं,’ उनले भने।
-अपिल-
आदरणीय नेता तथा प्रिय मित्रहरू,
नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो आम नेपाली जनताको भरोसा, अधिकारको संवाहक र मुलुकको समृद्धिको सपना बोकेको एउटा लोकतान्त्रिक अभियान हो। हाम्रा अग्रजहरूको त्याग, बलिदान र बीपी कोइरालाको विचारको जगमा उभिएको यस पार्टीले इतिहासका हरेक कठिन मोडमा मुलुकलाई सही दिशा दिएको छ। नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू हाम्रा गौरव हुन् तर, आज म ति गौरव गाथा गाउन गइरहेको छैन।
आज मुलुक फेरि एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा उभिएको छ। गत भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपश्चात् सिर्जना भएका परिस्थितिले देश कठिन मोडमा उभिएको छ। मुलुकमा रहेका विकृती र विसंगतीका विर"द्धमा युवाहरूले आफ्ना भावना शान्तिपूर्ण रूपमा व्यक्त गर्न खोज्दाखोज्दै पनि विभिन्न परिस्थिति र चलखेलका कारण त्यसले भयानक र अप्रत्याशित रूप लियो जसको परिणाम र गम्भीरता आज हामी सबैको सामु छर्लङ्ग छ।
तत्पश्चात आम निर्वाचन सम्पन्न भयो र देशमा प्रचण्ड बहुमतको सरकार छ। हामी सबै यो सरकारले पाएको जनमत खेर नजाओस र जनअपेक्षा अनुसार मुलुक ठिक बाटोमा हिडोस भन्ने कामना गर्दछौं तर सत्तामा रहेकाहरूको कतिपय गतिविधि र पछिल्लो समय मुलुकमा घटिरहेका घटनाहरूले गम्भीर चासो र चिन्ता पैदा गरेका छन्। यस्तो संगिन समयमा नेपाली कांग्रेस आफै सजग र सुदृढ नहुने हो भने मुलुक ठूलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम देखिन्छ।
श्रद्धेय नेतागण तथा पृय साथीहरू,
मुलुकले हामीबाट एकता र अभिभावकत्व खोजिरहेका बेला हामी आफैभित्रको बेमेल र असन्तुष्टिले थिचिएका छौं। सत्ता प्राप्ति हाम्रा अग्रजहरूको मुख्य ध्येय कहिल्यै थिएन, उहाँहरूको बलिदान व्यक्तिगत सुखका लागि पनि थिएन। जुन उद्देश्य र आदर्शका लागि यो पार्टी स्थापना भएको थियो, आज ती आधारभूत मूल्यमान्यता नै संकटमा परेका छन्। यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो। समयमै गल्ती सच्याएनौ भने इतिहासले हामीलाइ क्षमा दिने छैन।
हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनु हुँदैन। राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ। म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारू कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु की आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्। यो तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो।
सानेपामा बसेर मनैदेखि संवाद गरौं। विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ। आगामी १५ औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं ।
हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन। अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाइ फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने छ। अरूलाई सही बाटो देखाउने जिम्मेवारी बोकेको यो ऐतिहासिक पार्टीलाई थप सशक्त बनाउन हामी सबैको एकता र सक्रियता अपरिहार्य छ। त्यसैले सबै मतभेदलाई थाती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिड्न विनाशर्त सानेपा आउन म हार्दिक अपिल गर्दछु।
जय नेपाल
प्रदीप पौडेल
महामन्त्री, नेपाली कांग्रेस