चितवन : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन प्रक्रिया सुरु थालिएको छ। चितवनमा २ सय ३३ शव फेला परेका थिए ।
ती मध्ये हालसम्म ५ जनाको मात्र सनाखत भएको छ । बाँकी रहेका शव सड्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गाड्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा लामो समय फ्रिजिङ गरेर राख्न सम्भव नभएको र शवबाट दुर्गन्ध फैलिनुका साथै महामारी तथा सङ्क्रमणको जोखिम उच्च भएपछि प्रशासनले तत्काल व्यवस्थापनको कदम थालेको हो ।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ । सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी डेढ मिटर गहिराईका तीन वटा ठूला खाडल खनिएका छन्। खाडल खन्दा जंगलमा रहेका सालका रुखहरूलाई सकेसम्म जोगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले पहिचान नखुलेका सबै शवहरूलाई ‘डेड बडी ब्याग’ भित्र सुरक्षित राखेर मात्र खाल्डोमा राखिने बताएका छन । शव व्यवस्थापनका लागि आवश्यक ब्याग पर्याप्त मात्रामा उपलब्ध रहेको उनले जनाए ।
'अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को विपद् व्यवस्थापन मापदण्ड अनुसार प्रत्येक शवलाई एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको मिलाएर लस्करै राखिनेछ, एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ,' उनले भने, 'शवको पहिचान पछि पनि नगुमोस् भन्नका लागि विशेष कोडिङ प्रणाली लागू गरिएको छ, प्रत्येक शवको हात वा खुट्टामा कहिल्यै नष्ट नहुने नम्बरसहितको ट्याग बाँधिनेछ।' शवलाई माटोले पुरेपछि जमिनमाथि १ फिटको ढलान गरी बाहिरबाटै प्रष्ट देखिने गरी सोही कोड नम्बरसहितको स्ट्यान्ड खडा गरिने पौडेलले बताएका छन ।
प्रहरीका अनुसार शव गाडिएपनि पहिचान र खोजीको प्रक्रिया भने निरन्तर जारी रहनेछ । समाधिस्थ गर्नुअघि प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरी सुरक्षित राखिएको छ । ‘बेपत्ता भएका व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा आफ्नो डीएनए नमुना दिन सक्नेछन्,’ एसपी पौडेलले भने, ‘यहाँ सुरक्षित राखिएको डीएनए र परिवारको डीएनए परीक्षण म्याच भएको खण्डमा, जमिनमाथि राखिएको संकेत नम्बरका आधारमा शव निकालेर स-सम्मान परिवारको जिम्मा लगाइनेछ।’
यो सम्पूर्ण प्रक्रियाको निष्पक्षता र प्रमाणका लागि संयुक्त मुचुल्का तयार पार्नुका साथै भिडियो, तस्बिर र जीआर सुरक्षित राखिनेछ । साथै, शव समाधिस्थ गरिएको क्षेत्रलाई जंगली जनावर वा अन्य जोखिमबाट सुरक्षित राख्न चारैतिर बलियो तारबार गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।