काठमाडौं : जेनजी स्मृति दिवसको कार्यक्रममा दुई विवादित 'धर्मगुरू' लाई मञ्चमा राखेको भन्दै प्रश्न उठाएकी आफ्नै पार्टीकी सांसद तथा सचेतकलाई गृहमन्त्री सुधन गुरूङले ह्वाट्सएप ग्रुपमा हप्काएका छन्। झन्डै एक दर्जन 'जेनजी' सांसदहरू रहेको ह्वाट्सएप ग्रुपमा गृहमन्त्री गुरूङ रास्वपा सचेतक क्रान्तिशिखा धितालमाथि हेपाहा शैलीमा प्रस्तुत भएका हुन् ।
उनले 'खोला तर्यो, लौरो बिर्सयो' भन्दै क्रान्तिशिखालाई जेनजी आन्दोलनमा आफूहरूसँग नलडेको भन्दै प्रश्न गरेका छन्। जबाफमा धितालले 'गृहमन्त्रीज्यू, तपाईंको तमिज भएन' भन्दै 'जेनजीको आन्दोलन तपाईं एक्लैको हो भन्ने भ्रमबाट निस्कन' भनेकी छन्। यो विवाद भदौ २३ गते नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेनजी स्मृति दिवसको कार्यक्रमलाई लिएर सुरू भएको हो।
उक्त कार्यक्रममा विवादास्पद धर्मगुरूहरूलाई समेत मञ्चमा राखिएको थियो। कार्यक्रममा सहभागी रास्वपा सचेतक धितालले त्यसप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा प्रश्न उठाएकी थिइन्। 'मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो? त्यहाँ भएका धर्मगुरूको अर्थ के थियो?' उनले लेखेकी थिइन्, 'त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन्, जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन्, तिनले के बुझे, मलाई थाहा छैन।'
त्यसै दिनको कार्यक्रममा गृहमन्त्री गुरूङले पत्रकारहरूप्रति पनि आक्रोश व्यक्त गरेका थिए। उनले 'तीन–चार जना पत्रकारलाई सुध्रन' चेतावनी दिएका थिए। यद्यपि उनले कसलाई लक्षित गरेको हो भन्ने खुलाएका थिएनन्। कार्यक्रमपछि धितालले गृहमन्त्रीको उक्त अभिव्यक्तिमाथि समेत प्रश्न उठाइन्। 'पोहोर साल हामीले नै होइन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ?'
उनले फेसबुकमा लेखेकी थिइन्, 'हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौं।' उनले प्रश्न गरेकी थिइन्, 'अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई किन धम्की र चेतावनीको भाषा बोलिँदैछ ?' 'त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ?' क्रान्तिशिखाले लेखेकी थिइन्। यही स्ट्याटसपछि जेनजी सांसदहरू रहेको ह्वाट्सएप ग्रुपमा गृहमन्त्री गुरूङ र सचेतक धितालबीच चर्काचर्की भएको हो। -सेतोपाटीबाट