नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखी मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ । निकुञ्जले अहिलेसम्म ३ पटक गरी २५ वटा गोही राप्तीमा छाडिसकेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकोमा पछिल्लो समयमा ति गोहीहरु भने कतै देखिदैनन् ।
निकुञ्जले गोही रेखदेख गर्नका लागि कर्मचारी समेत खटाउने गरेको छ । उनीहरुले दैनिक रुपमा राप्ती नदीमा स्थलगत अनुगमन गर्छन् । एकातिर गोही छाड्दै जाने, अर्कोतिर छाडिएका गोही हराउँदै जादाँ कर्मचारीहरु चिन्तित भएका छन् । निकुञ्जले हरेक वर्ष प्राकृतिक बासस्थानका रुपमा रहेको राप्ती नदीमा छाडेपनि यहाँ घडियाल गोही असुरक्षित रहने गरेको कर्मचारी बताउँछन् ।
गोही विज्ञका अनुसार ‘मगर’ प्रजातीको गोही भन्दा ‘घडियाल’ शान्त स्वभावको मानिन्छ । यसले मान्छेलाई आक्रमण गर्दैन । यसको प्रमुख आहारा नै माछा हो । सफा पानीमा मात्र यो बस्न रुचाउँछ । राप्ती नदी घडियाल गोहीका लागि उपयुक्त बासस्थान भएपनि नदी वरिपरी मानव बस्ती रहेको छ । नदीमा सुन चाल्ने र माछा मार्ने आदिवासी समुदायको पनि उपस्थिती हुन्छ । आदिवासी खुना, कुमाल, बादी समुदायहरु राप्ती नदी आसपासका गाउँमा बसेका छन् । यसले गर्दा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमै पनि जोगाउन चुनौतीपूर्ण रहेको सम्बद्ध सरोकारवाला बताउँछन् ।
बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का राप्ती नदीमा घडियाल गोही असुरक्षित देखिएको बताउँछन् । नदीमा आश्रित समुदायका लागि आश्र आर्जनको विकल्प नखोजेसम्म राप्तीमा घडियाल गोही संरक्षण गर्न चुनौती नै रहेको उनको तर्क छ । अध्यक्ष खड्काका अनुसार राप्तीमा आश्रित समुदायका कारणले गर्दा पनि यहाँ घडियाल गोही असुरक्षित भएका हुन्।
उनी भन्छन्, ‘अहिले पनि ठुलो समुदाय नदीमा आश्रित छ, माछा मार्ने र सुन चालेर जिविकोपार्जन गर्ने समुदाय पनि छ, नदीमा आश्रित रहेका समुदायलाई विकल्प खोजौं, समयमा विकल्प नखोज्दा सम्म गोही सुरक्षित हुने अवस्था छैन ।’ पर्यटकीय गतिविधीसँग जोडेर नदीमा आश्रित समुदायलाई जिविकोपार्जन सम्बन्धी काममा लगाउन सकिने उनको सुझाव छ । राप्ती नदीमा घडियाल गोहीलाई कति असुरक्षा छ भन्ने कुराको पुष्टी भएको छ । निकुञ्जले २५ वटा छाडिसक्दा अहिले कतै फेला परेका छैनन् ।
निकुञ्जका कार्यालय प्रमुख एवम् वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र कँडेल पछिल्लो समयमा सिमसार क्षेत्र दिनप्रति चपेटामा परिरहेको अवस्थामा गोही संरक्षण गर्न चुनौती देखिएको बताउँछन् । ‘नदीमा गोहीको आहार माछाको पनि कमी भईसकेको अवस्था छ, अर्कोतिर मानवको आवत-जावत पनि गोही संरक्षणको अर्को चुनौती हो,’ उनी भन्छन् ।
गोही विज्ञका अनुसार घडियाल विशेषगरी नेपाल र भारतमा मात्रै पाईन्छ । केही वर्ष अगाडी अन्य देशहरु पाकिस्तान, भुटान र बंगलादेशमा घडियाल फेला परेको थियो । घडियाल गोहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ ले पनि संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत गरेको छ । गोहीलाई कसैले मारेको खण्डमा कडा कानुनी सजाय हुने ब्यवस्था गरिएको छ ।
कसैले शिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखी ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था छ । गोहीलाई एक देशबाट अर्को देशमा ओसार-पसार गर्न पनि पूर्णतया प्रतिबन्ध गरिएको छ । तर, दुई देशबीचको सहमतीमा अनुसन्धानका लागि मात्रै ओसार-पसार गर्न सकिन्छ ।
गोही संरक्षणमा लागेकी राप्ती सोनारी–१ की स्थानीय शारदा खुनाले अहिलेसम्म राप्तीमा २५ वटा गोही छाडिसक्दा पनि संख्या बढ्दै जानुको सट्टा हराउँदै गएको बताइन् । ‘पोहोरसाल अनुगमन गर्दाखेरी १२ वटा जति देखिएका थिए, यो वर्ष त कत्तिपनि देखिएका छैनन्,’ उनले भनिन्, ‘नदी वरिपरी मान्छेको आवत-जावत हुनु, आहारा प्रजाति नहुनु जस्ता कारणले गर्दा राप्ती नदीमा घडियाल गोही असुरक्षित भएको हुन सक्छ ।’