दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.को अनलाइन समाचार पोर्टल दूरसञ्चार डटकम शनिबार(आज) पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । २०७८ असोज ३ गते अर्थात् आजकै दिन संविधान दिवसको अवसर पारेर यस कम्पनीले अनलाइन समाचार पोर्टल औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । यो पुनीत घडीमा म हाम्रा श्रद्वेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
तपाईंहरूले दिएको न्यानो मायाले हाम्रो आधा दशकको यात्रा सहज भएको हो भन्न पाउँदा हामी अत्यन्तै खुसी भएका छौं । हाम्रो प्रकाशन अनलाइन समाचार पोर्टल सञ्चालन गरिएको छोटो अवधिमा आदरणीय पाठकको मन जित्न सफल भएको तथ्य पाठकसँग बाँड्न पाउँदा हामी निकै उत्साहित छौं । अनलाइन पोर्टल प्रकाशनको छोटो अवधिमा यहाँहरूले हामीप्रति देखाउनुभएको सद्भावले हामीलाई जीवन्त ऊर्जा मिलेको छ ।
हामीले विगतका दिनमा पत्रकारितामार्फत जिम्मेवार निकायलाई जवाफदेही बनाउने कोशिस गरेका छौं । लोकतन्त्रमा प्रेसको भूमिका कति महत्वपूर्ण हुन्छ, भन्ने कुरा हामीले दोहोर्याइरहनु पर्दैन । लोकतन्त्रलाई बलियो बनाउन नागरिकलाई सु–सूचित गराउनै पर्ने हुन्छ । जानकार नागरिक लोकतन्त्रका असली पहरेदार हुन् । हामी आमनागरिकलाई सूचनाबाट सुसज्जित तुल्याउँदै लोकतन्त्रलाई भरथेग गर्नसक्ने बनाउन प्रतिबद्ध छौं । पत्रकारितामा प्रविधि चुनौती र अवसर दुवैका रुपमा आएको छ ।
दूरसञ्चार डटकम नवीन सोच र अर्जुन दृष्टिको उपज हो । लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र जनअधिकारका लागि हामी अझै सशक्त रूपमा यहाँहरूमाझ आउने प्रण गर्दछौँ । ऊर्जाशील युवा पुस्तालाई सम्भावनाको बाटो देखाउने र उनीहरूको ऊर्जालाई सही बाटोमा प्रयोग गर्न अभिप्रेरित गर्ने दिशामा हाम्रो यात्रा अझ सशक्त रूपमा अघि बढ्नेछ ।
२१ औँ शताब्दीका नयाँ जेन–जी पुस्तादेखी सबै तह, तप्का र उमेर समूहका पाठक हाम्रो प्राथमिकतामा पर्नुहुन्छ । दूरसञ्चार डटकम सफलता पूर्वक पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी यस अनलाइन पोर्टललाई पठनीय बनाउन निरन्तर खटिने सम्पादकीय टिमलाई धन्यवाद दिन चाहन्छौं ।
आगामी दिनमा पनि पाठकको निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछौं । संविधान दिवस-२०८३ को उपलक्ष्यमा सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं !