नेपालगन्ज : स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावप्रति विभिन्न क्षेत्र, समुदायको चासो बढ्न थालेको छ । आगामी २०८४ सालका लागि स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित गर्ने निर्वाचन आयोगको तयारी छ ।
चुनाव नजिक आउँदै गर्दा विभिन्न क्षेत्र, समुदायबाट आफुहरुको पनि प्रतिनिधित्व गराउनुपर्ने माग उठेको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अगुवाहरुले पनि स्थानीय तहमा आफुहरुको प्रतिनिधित्व गराईनुपर्ने माग गरेका छन् ।
विभिन्न राजनीतिक दलबाट यसका लागि उम्मेदवार छनोटमा प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ । आगामी स्थानीय तहको निर्वाचनका लागि विशेषगरी वडा तहमा बसेर जनताको काम गर्ने मन्सायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरु रहेका छन् ।
निर्वाचनका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकातर्फबाट शिला गुरुङ, अंकित पुन, श्रीमाया गुरुङ, रंगिता बोगटी, सनम आचार्य लगायतले चुनाव लड्ने घोषणा नै गरिसकेका छन् ।
‘२०७२ सालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई सुनिश्चित गरेको छ, हामी पनि यही देशको नागरिक हौं,’ बैजनाथ–६ बाँकेका स्थानीय अंकित पुनले भने, ‘हामीलाई आफ्नै पहिचानबाट उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छौं ।’
आफ्नै लैंगिक पहिचानबाट उम्मेदवार बनेर जनताको सेवा गर्ने अठोट आफुहरुले लिएको उनले बताएका छन् ।