नेपालगन्ज : नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत बाँकेमा प्रारम्भ भएको वडादेखि जिल्ला तहसम्मको अधिवेशनका लागि गठित निर्वाचन समितिलाई शनिबार पुर्णता दिइएको छ ।
नेपाली कांग्रेस १५ औँ महाधिवेशन अन्तरगत बाँकेका मुख्य निर्वाचन अधिकृत एवम अधिवक्ता बीरबहादुर रोकायको संयोजकत्वमा यसअघि डिएलएका जिल्ला अध्यक्ष कपिलदेव शर्मा र अधिवक्ता मेहरसिंह खत्री सदस्य (सहायक निर्वाचन अधिकृत) रहेकोमा शनिबार नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री र नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष तारा थापालाई पनि समावेश गरेर ५ सदस्यीय बनाइएको हो । युनियन बाँकेका अध्यक्ष खत्रीलाई प्रवक्ताको समेत जिम्मेवारी तोकिएको छ ।
यस्तै अधिवेशनका लागि १३ सदस्य सहजीकरण समिति पनि गठन गरिएको छ । वरिष्ठ अधिवक्ता भोलासिंह हमालको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार श्रेष्ठ र लोकबहादुर शाह, डिएलए बाँकेका अध्यक्ष एवम अधिवक्ता कपिलदेव शर्मा, अधिवक्ताहरु प्रहलाद बहादुर कार्की, ईश्वरी प्रसाद ज्ञवाली, पवनकुमार यादव, बीरेन्द्र यादव, तोजेन्द्र बिक, तारा थापा, शुक्रऋषि चौलागाई, कमल खत्री र अर्जुन ओली रहेका छन ।
बाँकेको ८ वटा स्थानीय तहका ८१ वडामा शनिबारदेखि वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसले असोज ३ र ४ गते स्थानीय अनुकुलता अनुसार वडा अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुँदैछन् ।
नेपाली कांगे्रसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन, असोज १० गते प्रदेश सभा र क्षेत्रीय अधिवेशन गर्ने तालिका रहेको छ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ ।