अर्घाखाँची : कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले आसन्न १५ औं महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन हुने बताएकी छन् । वर्तमान आवश्यकता र समयको मागअनुसार कांग्रेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिसँग जोड्न थापाको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
सन्धिखर्कमा मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा भुसालले कांग्रेसका कार्यकर्ता र आम जनताले थापालाई सभापतिको भूमिकामा हेर्न चाहेको दाबी गरिन् । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यमा भने सबै पक्षलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्नुपर्ने उनले बताइन् । ‘कांग्रेसका कार्यकर्ता र जनताले गगनलाई हेर्न चाहेका छन्,’ उनले भनिन्, ‘सभापतिमा थापा सर्वसम्मत चयन हुनुहुन्छ । अन्य पदाधिकारी र सदस्यमा पनि सबैलाई सम्मानजनक स्थानमा समेटेर जानुपर्छ ।’
आफु पनि पदाधिकारीमै रहेर काम गर्ने अपेक्षा रहेको बताइन् । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र महाधिवेशन प्रक्रियालाई लिएर जारी विवाद समाधान गर्दै सबै पक्षलाई महाधिवेशनमा सहभागी गराउनुपर्ने भुसालले बताइन् । पार्टीलाई बलियो बनाउन कुनै पनि नेता वा समूहलाई बाहिर राख्न नहुने उनले बताइन् ।
पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित अभिभावकका रूपमा स्वीकार गरेर अघि बढ्न आफूहरू तयार रहेको उनले बताइन् । देउवालाई १५ औं महाधिवेशन उद्घाटनका लागि आग्रह गरिएको जानकारी दि“दै उनले पार्टी र लोकतन्त्र निर्माणमा देउवाको योगदानको सम्मान गर्नुपर्ने धारणा राखिन् । ‘पार्टीका पूर्वसभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित अभिभावक मानेर जान हामी तयार छौं,’ उनले भनिन्, ‘सभापतिज्यूले महाधिवेशन उद्घाटन गरिदिन देउवालाई भनिसक्नुभएको छ, दुई पटक सभापति भएर र पटकपटक प्रधानमन्त्री भएर लोकतन्त्र र देशलाई अघि बढाउन उहाले महत्वपूर्ण योगदान गर्नुभएको छ, त्यसको हामी सम्मान गर्छौं ।’
देउवाले महाधिवेशन उद्घाटन गरे कांग्रेसभित्र एकताको सन्देश जाने र पार्टी थप बलियो हुने भुसालले बताइन। देउवा महाधिवेशनमा सहभागी हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । महाधिवेशनमा सहभागी हुन नसक्ने वा असन्तुष्ट रहेका नेताहरूलाई समेत महाधिवेशनपछि सम्मानजनक भूमिकामा समेट्ने विषयमा छलफल भइरहेको उनले बताइन् । ‘महाधिवेशनपछि पनि सहभागी नहुने नेताहरूलाई समेट्ने विषयमा छलफल चलेको छ,’ उनले भनिन्, ‘सबैलाई सम्मानजनक स्थानमा समेटेर लैजान्छौं । त्यसको लागि विधानका धारा निलम्बन गरेर हुन्छ या अरु कही गरेर हुन्छ, कसैलाई पनि बाहिर राख्दैनौं । सबै कांग्रेसको छहारीमुनि बस्ने हो ।’
पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा पनि भुसालले जोड दिइन् । विगतका संसदीय तथा स्थानीय तहका निर्वाचनमा आन्तरिक गुटबन्दीको असर परेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनबाट त्यसलाई अन्त्य गर्नुपर्ने बताइन् । ‘अहिलेको माग र आवश्यकताअनुसार सबै नेताले परिवर्तनलाई स्वीकार गर्दै महाधिवेशनमा सहभागी हुनुपर्छ,’ उनले भनिन्, ‘पार्टी, संविधान र लोकतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुनुको विकल्प छैन ।’
अधिकांश वडामा सहमतिबाट नेतृत्व चयन भएकाले वडा अधिवेशनले पार्टीपंक्ति र कार्यकर्तामा उत्साह जगाएको उनले बताइन् । यही उत्साहलाई महाधिवेशनसम्म कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ। महाधिवेशनले कांग्रेसको नेतृत्व संरचनालाई थप बलियो बनाउने उद्देश्यले विधानलाई फराकिलो बनाइएको पनि भुसालले बताइन् । ३५ वर्षमुनिका प्रतिनिधिमध्ये २१ जना केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेकाले आगामी नेतृत्वमा युवाको सहभागिता बलियो हुने उनको भनाई छ ।