नेपालगन्ज : नेपालगन्जस्थित नेपाल-भारत सिमा नाका जमुनाहाबाट अबैध चाँदी सहजै भित्रिएको छ । जमुनाहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीबाट चेकजाँच हुन्छ ।
यस्तै नेपालगन्ज भन्सार कार्यालय अगाडीको चेक पोष्टमा पनि भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेकजाँच गर्छन् । तर मंगलबार यि चेकपोष्ट हुदै अबैध चाँदी भारतबाट सहजै रुपमा भित्रिएको पाइएको छ । ती चेकपोष्ट छलेर नेपालगन्जतर्फ ल्याउँदै गरेको ८ किलो २ सय ९६ ग्राम चाँदीका गहनालाई सशस्त्र प्रहरीले चौलिका नजिकबाट बरामद गरेको हो ।
भारतीय यूपी ३२ इके ८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, चाँदी तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
लखेट्दा पनि पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र बमले बताएका छन् । तर, स्थानीय प्रत्यक्षदर्शीले भने सशस्त्र प्रहरीले नै संलग्न ब्यक्तिलाई भगाएको आरोप लगाएका छन् । ‘प्रहरी र भन्सार कर्मचारीको मिलेमतो बिना त्यसरी अबैध चाँदी भित्रिन असम्भव नै हुन्छ, सशस्त्र प्रहरीले चाँदी र मोटरसाईकल त बरामद गर्यो, संलग्न ब्यक्तिलाई चाही भगायोे,’ एक स्थानीयले भने ।
भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ८ किलो २ सय ९६ ग्राम चाँदीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको चाँदी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय समक्ष बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।