नेपालगन्ज : अमेरिकी अन्र्तराष्ट्रिय विकास नियोग अन्तर्गत युएसएआइडीका उच्च अधिकारीले बाँकेमा सञ्चालित परियोजनाको स्थलगत निरीक्षण गरेका छन् । युएसएआइडीको रेसिलिंएस तथा खाद्य सुरक्षा ब्यूरो उपसहायक प्रशासक माइक मिचेनेर, युएसएआइडी नेपालका कार्यबाहक उपनिर्देशक आमी मोर्गन, युएसएआइडी नेपालका आर्थिक वृद्धि कार्यालयका निर्देशक जेसन सुकसहितको टोलीले मंगलबार निरीक्षण गरेको हो ।
युएसएआइडीले बाँकेमा कृषि क्षेत्रमा गरेको लगानी र त्यसले किसानमा आएको परिवर्तनको बारेमा सम्बन्धित किसान र सरोकारवालासहित निरीक्षण गरिएको थियो । उक्त टोलीले बाँकेको राप्ती सोनारी ५ मा किसानले प्रयोग गरिरहेको आधुनिक कृषि यन्त्र तथा उपकरण, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित साहु राईस मिलले किसानको उत्पादनलाई गरिरहेको बजारीकरण र बैजनाथ गाउँपालिकास्थित गेट नेपालले उत्पादन गर्दै आएको उन्नत जातको बीउ विजन सम्बन्धी निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा उपसहायक प्रशासक मिचेनेरले बाँकेका किसानले कृषिमा गरेको कामको प्रशंसा गर्दै आफु दंग परेको बताए । ‘नेपाली किसानले गरेको काम प्रशंसनीय छ, म पनि उहाँहरुको काम देखेर उत्साहित भएँ,’ उनले भने । उपसहायक प्रशासक मिचेनेर समावेशी र बजारमा आधारित कृषि, उत्थानशिलता, पोषण, पानीमा पहुँचको सुरक्षा, स्वच्छता र सरसफाईलाई अगाडी बढाउन युएसएआइडीले नेपाल सरकार र जनतासँग कसरी साझेदारी गर्दछ भन्नेबारे अवलोकनका लागि पहिलो पटक नेपाल आएका हुन् ।
अमेरिकी जनताको तर्फबाट नेपाललाई वैदेशिक सहायता प्रदान गर्न सक्षम भएको उनको दाबी छ । ‘यो मेरो पहिलो नेपाल भ्रमण हो र बाँकेमा यहाँका समुदायहरू तथा निजी क्षेत्रका साझेदारसँग भेटघाट उत्साहजनक भएको छ,’ उनले भने ‘समावेशी र बजारमा आधारित कृषि, उत्थानशीलता, पोषण, पानीमा पहुँचको सुरक्षा, स्वच्छता र सरसफाइलाई अगाडी बढाउन यूएसएआइडीले नेपाल सरकार र जनतासँग कसरी साझेदारी गर्दछ भन्ने हेर्न नेपाल आएको हुँ ।’ परियोजनाले नेपाललाई आफ्नो र विकासको गति बढाउन मद्धत गर्ने विश्वास गरे ।
कोभिड-१९ का कारण उत्पन्न अवस्था र चुनौतीका बाबजुद नेपाल सरकार र निजीक्षेत्र सँगको दरिलो साझेदारी र सहकार्यका कारण यूएसएआइडीको कार्यक्रमबाट उल्लेखनीय नतिजा हासिल गरिरहेको छ भन्नेमा आफुलाई खुसी लागेको उनले बताए । नेपालको कृषि विकास र आर्थिक वृद्धिमा सहयोगका खातिर साझेदारीलाई जारी राख्न आफुहरु उत्सुक रहेको मिचेनेरले सुनाए ।