नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले १४४९८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ७३१६ मत ल्याएका छन् । विष्ट र मिश्रबीच ७१८२ मतको अन्तर रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नन्दलाल बैश्यले ५४१२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले १११९८ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ७०६० मत प्राप्त गरेकी छन् । राई र चर्तीमगरबीच ४१३८ मतको अन्तर रहेको छ । नेकपा एमालेकी शान्ति ढकालले ६९२८ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म नेपालगन्ज १ , २ , ३ , ४ , ५ , ६ , ७ , ८ , ९ , १७, १९ , २० , २१ , २२ र २३ को अन्तिम मतगणना सार्वजनिक भइसकेको छ । यस्तै वडा नम्बर १८ र १० को मतगणना अहिले भेरी प्राविधिक शिक्षालयमा चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकामा कुल ६१२०५ मत खसेको थियो ।
नेपालगन्ज नगर प्रमुखका उम्मेदवार :
प्रशान्त विस्ट : १४४९८
पशुपति दयाल मिश्र : ७३१६
नन्दलाल वैश्य : ५४१२
उपप्रमुख पदका उम्मेदवार :
कमरुदिन राई : १११९८
विन्दु चर्तीमगर : ७०६०
शान्ति ढकाल : ६९२८