नेपालगन्ज : बाँकेबाट ६ जना सांसदले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्छन् । बाँकेबाट नेकपा एमाले र माओवादी केन्द्रका २/२ तथा नेपाली कांग्रेस र संघिय समाजवादी फोरमका १/१ जना छन् । तर, बजेट ल्याउँदा लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष बाँकेलाई उपेक्षा गर्दै आएको छ ।
यसवर्ष पनि लुम्बिनी प्रदेश सरकारले बाँकेलाई उपेक्षा गरेको पाइएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्यायो । तर, यो बजेटमा बाँके जिल्लालाई खासै समेट्न सकेको छैन ।
कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा उक्त बजेट सार्वजनिक गरेका थिए । बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर-रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशको गौरवको आयोजनामा यसपटक बाँकेलाई प्राथमिकतामा राखिएको छैन । आगामी आर्थिक वर्षको बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ ९३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ ९५७.४१ प्रतिशत रहेको छ ।
वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन भएको छ । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहेको छ ।