बाँके (जानकी) : जानकी गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । बैंकमा घण्टौंसम्म लाईनमा उभिएर सामाजिक सुरक्षा भत्ता लिन हैरान भएपछि गाउँपालिकाले वडामै भत्ता बुझ्ने ब्यवस्था मिलाएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को त्रैमासिक भत्ता अगामी असोजमा वितरण गर्ने गरी एनआईसी एसिया बैंकसँग लिखित रुपमै सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । यसअघि मेगा बैंकले नेपालगन्जस्थित कार्यालयबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको थियो ।
‘एनआईसी एसिया बैंकका कर्मचारी ६ वटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछन्,’ डाँगीले भने ‘सुरक्षा सहितको ब्यवस्थापन हामीले मिलाउने छौं, वितरणका क्रममा हाम्रा कर्मचारी पनि खटिएर सघाउनेछन्, बैंकका कर्मचारी पनि खटिनेछन्,’ उनले भने । पहिलो चरणमा असोज महिनामा भत्ता वितरण गरिने डाँगीले जानकारी दिए ।
बैंकमा पुगेर भत्ता लिन झण्झट भएपछि यस्तो ब्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । ‘बैंकमा पुगेर भत्ता लिन जनतालाई धेरै समस्या भइरहेको थियो, उहाँहरुको समस्यालाई मध्यनजर गर्दै हामीले यस्तो निर्णय गरेका हौं,’ उनले भने ।
सरकारले ७० वर्षदेखी माथीका बृद्ध बृद्धा, ६० वर्षमाथीका दलित समुदायका बृद्धबृद्धा, एकल महिला र ५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए ।