नेपालगन्ज : दशैँ भित्रिएसँगै सामान किन्न भारतीय बजार रुपैडिहा जानेको घुइँचो लागेको छ । बाँके, दाङ, सुर्खेत, सल्यान, रोल्पा, रुकुम लगायत पहाडी जिल्लाबाट दिनहुँ ठुलो संख्यामा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जान थालेपछि घुइँचो लागेको हो ।
दशैँमा लत्ता कपडा, किरानाका सामान लगायतका सामाग्री किन्ने गरिन्छ । यो बेला व्यापार बढ्ने गर्दछ । नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार जान थालेपछि नेपाली ब्यापारी निराश बनेका छन् ।
नेपाली उपभोक्तालाई स्वदेशमै किनमेल गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले केहीदिन अघि जमुनाहा नाकामा सचेतना कार्यक्रम समेत गरेको थियो । तर, उक्त कार्यक्रमको प्रभाव खासै नपरेको पाइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भारतीय बजारभन्दा नेपालगन्जमै सस्तो सामान पाइने भएपनि उपभोक्ताको बुझाई नै गलत भएकाले सिमापारी जाने प्रवृत्ति बढेको बताउँछन् ।
‘भारतीय बजारको भन्दा नेपालगन्जमै सस्तो मुल्यमा सामान पाइन्छ, तर सिमापारी गएपछि सस्तो मुल्यमा सामान पाइन्छ भन्ने भ्रम उपभोक्तामा छ,’ उनले भने । दशैँका लागि अत्यावश्यक वस्तुदेखि विलासी सामान समेत किन्न नेपाली उपभोक्ता भारतीय बजारमा निर्भर देखिन्छन् ।
यसपालीको दशैँमा नेपालमा हरेका सामानमा मुल्य बढेको छ । तरकारी, किराना सामान, कपडा, ईलेट्रिक, ईलेट्रोनिक्स, सौन्दर्य लगायतका सामानमा भारी रुपले मुल्य वृद्धि हुँदा भारतीय बजारमा नेपाली उपभोक्ता जान थालेका हुन् । नेपाली उपभोक्ताले लत्ता कपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल, टिभी, फ्रिज जस्ता सामान भारतीय बजारमा किन्ने गरेको पाइन्छ ।