नेपालगन्ज : आन्दोलनरत उद्योगी व्यवसायीलाई सरकारले बार्ताका लागि बोलाएको छ । राष्ट्र बैंकले लागु गरेको अब्यवहारिक नीतिका कारण आफुहरुको ब्यवसाय धरासायी भएको भन्दै नेपालगन्जसहित देशभरका उद्योगी, ब्यवसायी आन्दोलित भएका थिए ।
आन्दोलन स्वरुप नेपालगन्ज र कोहलपुरमा यसअघि पटक पटक धर्ना र प्रर्दशन गरिएको थियो । कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उद्योगी ब्यवसायीले कोहलपुरमा केहीदिन अघि प्रर्दशन गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा पहिलो र दोस्रो चरणको कार्यक्रम अन्तरगत राष्ट्र बैंक कार्यालय नेपालगन्ज अगाडी धर्ना, प्रर्दशन लगायत दवाव मुलक कार्यक्रम गरिएको थियो ।
पटक-पटक आन्दोलन गर्दै आएपनि निकास ननिस्केपछि अर्थ मन्त्रालयले बार्ताका लागि बोलाएको हो ।नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले अर्थ मन्त्रालयको सचिवालयबाट संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाई बोलाएपछि मंगलबार नै उनी काठमाडौं गइसकेको जानकारी दिए ।
‘अर्थ मन्त्रालयको सचिवालयबाट अध्यक्ष ज्युलाई ब्यवसायीका मुद्दामा छलफलका लागि बोलावट भएको छ, अध्यक्ष ज्यु आज नै काठमाडौं प्रस्थान गरिसक्नु भएको छ, आशा गरौं, राम्रै हुनेछ,’ उनले भने ।पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभएपछि संघले सोमबारबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत उद्योगी व्यवसायीको मागका विषयमा विशेष चासो राखेका छन् ।
उद्योगी, ब्यवसायीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएको उद्योग वाणिज्य महासंघले जनाएको छ । उद्योगी, ब्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्दै आएका थिए । बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने, चालु पुँजी कर्जाको नीति संशोधन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा गरेका थिए ।