नेपालगन्ज : यही चैत्र ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम पर्यटन महोत्सव आयोजना गर्दैछ ।
महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले शुक्रबार जिल्लास्थित सम्बद्ध सरोकारवालासँग आवश्यक पहल समेत गरेको छ । जिल्लास्थित सम्बद्ध सरोकारवालासँगको छलफलमा उनीहरुले सुस्ताउँदै गएको ब्यापार व्यवसायलाई चलयमान बनाउन यस्ताखाले मेला महोत्सवले उत्प्रेरणा दिने भन्दै सफलताका लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मेला महोत्सवबाट नेपालगन्जको मौलिक कुराहरुको प्रर्बद्धन गर्नुपर्ने जोड दिदै नाट्टा बाँकेका च्याप्टर अध्यक्षले नेपालगन्जको ब्यापारलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए । उनले पर्यटनलाई समेत जोडेर अघि बढ्नुपर्ने बताए ।
यस्तै जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्र चन्दले महोत्सवलाई नेपालगन्जको ब्राडिङसंग जोडेर अघि बढ्नुपर्ने सुझाए । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरूद्वारा उत्पादित विभिन्न बस्तुहरूको बजारीकरणका लागि प्रदेश स्तरको महोत्सव गर्न लागिएको बताइन् ।
महोत्सवमा २ स ५० देखि ३ सय वटासम्म विभिन्न स्टलहरू राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरूमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनी गरिने बताइन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा हरेक दिन साँस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जि.आर. भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।
सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य रामसरण विसी, महासंघ अन्तर्गतकै लुम्बिनी प्रदेश महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष शर्मिला खत्री, प्रदेश सदस्य सतिस अधिकारी, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज नगर समिति अध्यक्ष दिला शाह, नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेकी उपाध्यक्ष रुपा ओझा, जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्र चन्द लगायतले स्थानीय उत्पादन र पर्यटनको प्रर्वद्धनसँगै बजारीकरणमा उल्लेख्य सहयोग पुग्ने महोत्सवलाई सफलताको शुभकामना दिए ।