नेपालगन्ज : नेपालगन्जको वाटरपार्कमा हुन लागेको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले यही चैत ६ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो ।
महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले दिएको जानकारी अनुसार महोत्सवको तयारी करिव ८० प्रतिशत सम्पन्न भएको छ । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको जानकारी दिइन् । बाँकेको आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिइन् ।
‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन् ‘महोत्सवमा आउने कलाकारको टुंगो लागिसकेको छ, भने महोत्सव स्थलमा २ सय स्टल बुक भईसकेका छन् ।’ महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न महासंघले जिल्ला स्थित सम्बद्ध सरोकारवालासँग आवश्यक पहल गरिसकेको छ । विभिन्न समिति, उपसमिति बाट आवश्यक तयारी ब्यापाकता दिइएको छ ।
यस्तै तीन वटा अटो र दुईवटा गाडीबाट दिनहुँ ब्यापक प्रचार प्रसार गरिनुका साथै पर्चा पम्प्लेट टाँसिरहेको छ । सुस्ताउँदै गएको ब्यापार व्यवसायलाई चलयमान गराउने उद्देश्यका साथ उद्यमीहरुले उत्पादन गरेको बस्तुको बजारीकरण, उत्पादन र उद्यमीको प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिइन् ।
मेला महोत्सवबाट नेपालगन्जको मौलिक कुराहरुको प्रर्बद्धन गर्नुका साथै नेपालगन्ज वाटर पार्कसहित यसक्षेत्रको पर्यटन प्रर्वद्धनमा जोड दिइएको र महासंघको भवन निर्माणमा समेत आर्थिक संकलनका लागि महोत्सव महत्वपूर्ण रहेकोले महोत्सवमा सहभागि हुन उनले आग्रह गरेकी छन् ।
नेपालगन्जमा पहिलोपटक बेलुका ८ बजेसम्म महोत्सव सञ्चालन हुने भएकाले सन्ध्याकालिन महोत्सवको आनन्द लिनका लागि पनि महोत्सवमा सहभागि हुन नछुटाउन उनले आग्रह गरिन् । अध्यक्ष खड्काका अनुसार स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म आयोजना हुने महोत्सवमा ५० वटा स्टल उद्यमीलाई निःशुल्क उपलब्ध गराइएको छ ।
उक्त महोत्सवमा २ सय ५० देखि ३ सय वटासम्म विभिन्न स्टल राखिने आयोजकले जनाएको छ । ती स्टलमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्याँस लगायतका सामाग्री प्रदर्शनी गरिने अध्यक्ष खड्काले सुनाइन् ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा हरेक दिन साँस्कृतिक प्रस्तुती गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए । महासचिव भुसालका अनुसार चैत ६ गते महोत्सव उद्घाटनका दिन र्यालीसहित भब्य झाँकीका साथ उद्घाटन गरिनेछ ।