नेपालगन्ज : सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी पुरा भएको छ । नेपालगन्जको वाटरपार्कमा मंगलबार(भोलि) देखी महोत्सव सुरु हुन लागेको हो ।
महोत्सवको पुर्वसन्ध्यामा सोमबार बेलुका आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिइन् । महोत्सवको प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका पुर्वमन्त्री कृष्णा केसी नमुनाले दिउँसो ३ बजे उद्घाटन गर्नेछिन् ।
उद्घाटन हुनुअघि नेपालगन्ज उपमहानगर क्षेत्रमा झाँकीसहित बृहत र्याली निकालिने भएको छ । उक्त महोत्सवका लागि १ सय ७५ वटा स्टल बुक भइसकेको आयोजकले जनाएको छ । जसमध्ये व्यवसायिक प्रकृतिका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धी १५ स्टल रहेका छन् ।
महोत्सव अवलोकनका लागि १ सय रुपैयाँ प्रलेश शुल्क र बिद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई चलायमान गराउन र उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरण तथा प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको महासंघले जनाएको छ ।
यस्तै महोत्सवको थप आकर्षणका रुपमा दैनिक रुपमा प्रस्तुत गरिने साँगितिक कार्यक्रम रहनेछ । साँगितिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । यही चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवको बीचमा पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम हुनेछ ।
होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ । तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा २ करोड बढीको कारोबार तथा २ लाख बढी दर्शक अवलोकन गर्ने अपेक्षा गरिएको छ ।