नेपालगन्ज : नेपालगन्जको वाटरपार्कमा सञ्चालित सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सव समापन भएको छ । यही चैत्र ६ गतेदेखि सञ्चालित महोत्सव बुधबार समापन भएको हो । महोत्सव चैत १८ गतेसम्म सञ्चालन हुने भनिएपनि बुधबार समापन गरिएको हो ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको बसेको आपतकालिन बैठकले यस्तो निर्णय गर्दै महोत्सव समापन गरेको जनाइएको छ । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती भइरहेको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्दा दैनिक ३ लाख बराबरको आर्थिक क्षति व्यहोर्नु परेको आयोजकले जनाएको छ ।
महासंघ बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले एसइई तथा बिद्यालयको वार्षिक परिक्षा यही समयमा हुनुु, महोत्सव स्थल नजिक भएपनि सबैलाई पाएक नपरेको, बढ्दै गएको गर्मी र मौसमको चुनौती तथा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्नु लगायतका विविध कारण देखाउँदै महोत्सव बीचमै समापन गर्नुपरेको बताइन् ।
आयोजकले महोत्सव अवधिभर भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने उद्योगी, व्यवसायी, राजनीतिक दल, संघ सस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष धन्यबाद ज्ञापन समेत गरेको छ । चैत्र ६ गतेदेखि सञ्चालित महोत्सवमा १ सय ७५ स्टल प्रर्दशनीमा राखिएको थियो । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धी १५ स्टल रहेका थिए ।
महोत्सव अवलोकनका प्रवेश शुल्क १ सय र बिद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह–आयोजक रहेको उक्त महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय रहेको बताइएको छ ।