नेपालगन्ज : नेपालगन्ज नाकामा निर्माण सम्पन्न भएको एकिकृत जाँच चौकी (आईसिपी) बाट काम सुरु भएको छ । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राईट्स’ले नेपाल सरकार शहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको करिव दुई सातापछि सोमबारबाट औपचारिक रुपमा कारोबार सुरु भएको हो ।
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सोमबार औपचारिक रुपमा आईसिपीलाई शुभारम्भ गरेका हुन् । नेपालबाट दुई वटा ट्रकमा भारततर्फ सामान पास गराएर शुभारम्भ गरिएको हो । योसँगै आईसिपी स्थलबाटै सबै काम गर्न थालिएको छ । शुभारम्भ गर्दै मन्त्री भण्डारीले आइसिपी सञ्चालनमा आएसँगै व्यापार, ब्यवसायमा सहजीकरण हुने विश्वास ब्यक्त गरे ।
नेपाल-भारतसँगै तेस्रो मुलुकबीचको व्यापार, ब्यवसायमा सहजीकरण हुने विश्वास ब्यक्त गरे । उनले भने, ‘आईसिपीको प्रयोगले व्यापारको सन्तुलनलाई नियन्त्रण गर्नेछ, यति मात्र नभएर चोरी पैठारी नियन्त्रणका साथै राजश्व असुलीमा पनि बृद्धि हुनेछ, सबैभन्दा प्रमुख कुरा गैरकानूनी रुपमा हुने चोरी पैठारी नियन्त्रणमा आउनेछ ।’
शुभारम्भ पश्चात औपचारिक रुपमा काम सुरु गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज बिश्वकर्माले बताएका छन् । उद्घाटन भएको झण्डै एक वर्षपछि भारतले नेपाल सरकारलाई हालै हस्तान्तरण गरेको थियो । नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आईसिपी निर्माण गरिएको थियो । उक्त आईसिपीको २०८० जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए ।
नेपाल इन्टर मोडल यातायात विकास समितिले ‘टिआरएस एटलस लोजीपार्क’ नामक कम्पनीलाई २१ करोड रुपैयाँमा ५ वर्षका लागि सञ्चालन तथा ब्यवस्थापन गर्ने जिम्मा दिइसकेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले १ अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो । सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा सबै काम सम्पन्न गर्ने समय पाएको थियो । ठेकेदार कम्पनीले दुई पटकसम्म म्याद थपेको थियो ।
आईसिपी निर्माणमा भारतीय परामर्शदाता कम्पनी ‘राईट्स’ले जिम्मा पाएको थियो । भारत सरकारले यसअघि सन् २००५ मा नेपालको बिराटनगर, बीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसिपी निर्माण गरिदिने सहमती जनाएको थियो । भारतकै सहयोगमा नेपालगन्ज नाकामा आईसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ विघा जग्गामा आईसिपी निर्माण गरिएको छ ।
आईसिपी सञ्चालन भएपछि सबै सेवा सुबिधा एकै ठाउँमा प्राप्त गर्न अब सहज हुने नेपालगन्जका उद्योगी, ब्यवसायी बताउँछन् । आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउण्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।