नेपालगन्ज : 'रजनी कनौजिया' समुदाय स्तरमा पुगेर एचआईभी र यौन रोगबारे सचेतना जगाउँछिन् । समुदायमा अझैपनि एचआईभी र यौन रोगबारेको धारणा फरक छ । त्यसैले सर्बसाधारण नागरिकलाई सचेतना जगाउनकै लागि उनी प्रायः समुदाय स्तरमा पुग्छिन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी रजनी भन्छिन्, ‘एचआईभी र यौन रोगको संक्रमण समुदायमा नफैलियोस् भनेर नै हामी जनचेतनाका लागि घर–घरमा पुग्छौं, त्यहाँ पुगेर हामीले आवश्यकता अनुसार औषधी, कण्डम लगायतका सामाग्रीहरु बाँड्छौं ।’ सरकारले एचआईभी संक्रमण रोकथाम गर्नका लागि निःशुल्क रुपमा विभिन्न प्रकारका औषधी र कण्डम निःशुल्क रुपमा वितरण गर्ने ब्यवस्था मिलाएको छ ।
सरकारको अभियानलाई सफल पार्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तीहरु पनि सक्रियता पूर्वक लागेका हुन् । रजनीले अगाडी भनिन्, ‘समुदाय स्तरमा पुगेर हामीले एचआईभी र यौन रोगका बारेमा राम्ररी बुझाउँछौं, जहाँ बढी संवेदनशिल क्षेत्र छ, त्यहाँ हामी पुग्छौं ।’ रजनीले एचआईभी र यौन रोगबारे सचेतना फैलाउन थालेको करिव १५ वर्ष पुगिसकेको छ । यसबीचमा थुप्रै न्यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्य समुदायका ब्यक्तीहरु आफुहरुको सम्पर्कमा आएको उनले सुनाइन् ।
पछिल्लो समयमा एचआईभी र यौन रोगका विषयमा नागरिकहरु सचेत भएपनि कतिपयमा हेलचक्र्याई हुने गरेको रजनीको अनुभव छ । रजनी जस्तै एचआईभी र यौन रोगबारे सचेतना जगाउन १० जना समुदाय स्तरमा सक्रिय हुँदै आएका छन् । यि मध्ये ६ जना सामुदायिक सहयोगी कार्यकर्ता र ४ जना ‘पि.एन. नेभिगेटर’ हुन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएको संस्था पश्चिम तारा नेपालमार्फत उनीहरु दैनिक रुपमा बाँकेका विभिन्न स्थानमा खटिन्छन् । समुदाय स्तरमा एचआईभी र यौन रोगबारे सचेतना फैलाउँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्ती बाहेक अन्य समुदाय (महिला र पुरुष) ले पनि सेवा पाइरहेका छन् ।
पश्चिम तारा नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत हिमालबहादुर खड्काका अनुसार समुदाय स्तरमा खटिएर २०२३ अक्टोबर देखी २०२४ सेप्टेम्भरसम्म ३ सय १२ जनालाई एचआईभी सम्बन्धी सेवा दिइएको छ । यस्तै १ सय १ जनालाई ‘प्रेप’ सर्भिस दिइएको छ । यसैगरी १ सय १९ जना पुरुष यौनकर्मी, १ सय २३ जना पारलिंगी, ८ जना यौनकर्मीका ग्राहक र १ जना महिला यौनकर्मीलाई सेवा दिइएको खड्काले जानकारी दिए । त्यसैगरी समुदाय स्तरमा ४२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् ।