बाँके (बैजनाथ) : स्वस्थ रहन पाउनु नागरिकको नैर्सगिक अधिकार हो । नागरिकको अधिकारलाई हनन् हुन नदिन बैजनाथ गाउँपालिकाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको छ । विगतका वर्षझै आर्थिक वर्ष २०८१/०८२ मा पनि गाउँपालिकाले आम बैजनाथबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य शाखामार्फत महत्वपूर्ण कार्यक्रमहरु गरेको शाखा प्रमुख लक्ष्मण शाहीले बताए । उनका अनुसार ३ वटा बिद्यालयमा किशोरीको रक्तनमुना परिक्षण कार्यक्रम गरेर रगत कम भएका किशोरीलाई आइरन चक्की, सागपात सहितका खानेकुरा खान परामर्श दिइएको छ । गाउँपालिकाले ‘ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम’ लाई पनि प्रभावकारी रुपले कार्यान्वयन गरेको छ ।
‘यो कार्यक्रमबाट स्थानीय स्वास्थ्य चौकीमै गएर तालिम प्राप्त दक्ष नर्सिङ कर्मचारीबाट गर्भवती महिलाको गर्भ जाँच गरिन्छ, सामान्यतया चार महिनापछि अथवा आवश्यकता अनुसार के समस्या छ, गर्भ जाँच गरेर त्यो गर्भमा बच्चाहरु उल्टो छ अथवा सालनाल बेरिएको छ, या प्राविधिक समस्याहरु अरु के छन् ?, त्यो कर्मचारीले हेरेर गर्भवतीलाई समयमै विशेषज्ञ सेवा दिनुपर्ने हो या अरु परामर्श दिनुपर्ने हो, त्यो कार्यक्रम पनि हामीले सञ्चालन गर्यौं,’ शाहीले भने ।

पूर्णखोप पालिका घोषणा
बैजनाथलाई आर्थिक वर्ष २०८१/०८२ मै पूर्णखोप पालिका घोषणा गरियो । विभिन्न सूचक पुरा गरेर गाउँपालिकालाई घोषणा गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले घोषणा गरेका हुन् । गाउँपालिकालाई घोषणा गर्नुअघि सम्बन्धित वडालाई घोषणा गरिएको थियो । पूर्णखोप घोषणासहित गाउँपालिकामा स्वास्थ्य सम्बन्धी अन्य थुप्रै कार्यक्रम भएकोे शाखा प्रमुख शाही बताउँछन् ।
गाउँमै डाक्टरको सेवा
गाउँपालिकामा हाल ३ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य सेवा केन्द्र र ४ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । बैजनाथ गाउँपालिका क्षेत्रभित्र एमबिबिएस डाक्टरसहित स्वास्थ्यकर्मीबाट नियमित रुपमा उपचार पाउने ठाउँ हो, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र । जहाँ, एमबिबिएस डाक्टरले बिरामीको उपचार गर्छन् ।
बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त केन्द्रबाट २४ सैं घण्टा प्रसुतिका साथै प्रयोगशाला, एक्सरे, स्वास्थ्य बीमा कार्यक्रम लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको छ । यहाँ सर्बसाधारण नागरिकको उपचार सहज रुपमा गरिन्छ । केन्द्रमा आउने बिरामीको चाप पछिल्लो समयमा बढ्दै गएको छ । केन्द्रमा वार्षिक २५ हजार बढीले सेवा लिदै आएका छन् । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको गाउँपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भूमिसरा राना बताउँछिन् ।
‘नागरिकको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकारले संवेदनशिल भएर काम गरेको छ,’ उनले भनिन् ‘गाउँपालिकामै डाक्टर सहितको सेवा पाउनु भएको छ, बर्थिङ सेन्टरमा धेरै महिला दिदी बहिनीले बच्चा जन्माउनु भएको छ ।’
स्वास्थ्य बीमा कार्यक्रम लागु भएकाले केन्द्रमा बिरामीको चाप झनै बढेको छ । ‘यो केन्द्र बीमाको पहिलो सेवा विन्दु पनि हो, स्वास्थ्य बीमा कार्यक्रमको फार्मेसी पनि छ,’ केन्द्रका सिनियर अहेव अधिकृत भोलाप्रसाद अधिकारीले भने, ‘स्वास्थ्य बीमा लागु भएर हालसम्म सञ्चालन हुदै आएको छ ।’ केन्द्रमा बैजनाथसहित बाँसगढी, कोहलपुर र राप्ती सोनारीका बिरामी आउने गरेको यहाँका स्वास्थ्यकर्मी बताउँछन् ।
प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न छुट्टै समिति रहेको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्षको अध्यक्षतामा सञ्चालक समिति रहेको छ । केन्द्रका सिनियर अहेव अधिकृत अधिकारीका अनुसार स्वास्थ्य बीमा कार्यक्रमले गर्दा यहाँ उपचार गराउन आउने बिरामीको चाप बढेको हो । स्वास्थ्य बीमाबाट केन्द्रले वार्षिक ९० लाखदेखी १ करोड सम्म कारोबार गर्दै आएको छ । केन्द्रले स्वास्थ्य बीमासहित अनुदान र अन्य आम्दानी गरेर गतवर्ष १ करोड ४९ लाख रुपैयाँ कारोबार गरेको थियो । औषधीबाट मात्रै दैनिक ३०/३५ हजार रुपैयाँको कारोबार हुने सिनियर अहेव अधिकृत अधिकारीले सुनाए । स्वास्थ्यकर्मीका अनुसार केन्द्रबाट वार्षिक रुपमा ७५ देखी १ सय जना सुत्केरी हुन्छन् ।
बिरामीको उपचार वापत स्वास्थ्य बीमाबाट करिव ७० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अधिकारीले बताए । केन्द्रमा मेडिकल क्षेत्रका बिद्यार्थीहरु, एचए, स्टाफ नर्स, एमबिबिएसका बिद्यार्थीहरु प्रयोगात्मक कक्षाका लागि आउँछन् । उनीहरुबाट लिइने शुल्क पनि केन्द्रको आम्दानीको हुने यहाँका स्वास्थ्यकर्मी बताउँछन् ।
यस बाहेक गाउँपालिकाभित्र तीन वटा स्वास्थ्य चौकी र बाँकी वडामा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । गाउँपालिक भित्रै रहेको चिसापानी स्वास्थ्य चौकी, नौवस्ता स्वास्थ्य चौकी र टिटिहिरिया स्वास्थ्य चौकीका साथै अन्य आधारभुत स्वास्थ्य केन्द्रले सर्बसाधारण नागरिकको सेवा गरिरहेका छन् । स्वास्थ्य शाखाले नसर्ने दिर्घरोग सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । यस्तै सिकलसेल एनिमिया सम्बन्धी कार्यक्रम पनि छ । उनीहरुका लागि स्वास्थ्य बीमा गरेर स्वास्थ्य कार्यालयबाट नविकरण गर्ने काम भएको शाही बताउँछन् ।
बैजनाथको पुरानो स्वास्थ्य संस्था मध्येको एक हो, चिसापानी स्वास्थ्य चौकी । जसले प्रभावकारी रुपले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उक्त स्वास्थ्य चौकीका प्रमुख प्रेम शाहका अनुसार त्यहाँ बैजना–१, २, ३ र बर्दियाको बेलुवा तथा थुप्रै ठाउँबाट सेवा लिन आउँछन् । यहाँ बच्चाका लागि खोप सुविधासहित स्वास्थ्य उपचार सेवा र २४ सैं घण्टा बर्थिङ सेन्टर पनि चलिरहेको छ । ‘विशेषगरेर हाम्रो बर्थिङ सेन्टर भएको हुनाले सु्त्केरी यही हुन्छन्, यसबाहेक भेरी अस्पताल र कोहलपुरमा पनि जाने गर्नुहुन्छ,’ शाहले भने ‘हेर्दा सामान्य लागेपनि कतिपयको अवस्था जटिल हुन सक्छ, ल्याब परिक्षण गराउने अवस्था हुन्छ, यहाँ जटिल देखियो भने कोहलपुर वा नेपालगन्जमा पठाउँछौं ।’
गाउँपालिकाका कार्यपालिका सदस्य कृष्णाकुमारी सुनार स्वास्थ्यका क्षेत्रमा स्थानीय सरकारले जनताका लागि धेरै राम्रा कार्यक्रम ल्याएको दाबी गर्छिन् । ‘गाउँपालिकाभित्रका जनता कसैले पनि उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर गाउँपालिकाले स्वास्थ्यका कार्यक्रम ल्याएको छ,’ उनले भनिन् ।