नेपालगन्ज : नेपाल पर्यटन बोर्डको टिमसहित पत्रकारको टोलीले शुक्रबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेको छ । निकुञ्जको पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा सफारी गरिएको हो ।
जंगल सफारीका क्रममा उक्त टोली निकुञ्जको ढकेरी हुदै चुरे क्षेत्रसम्म पुगेको नाट्टा बाँकेका महासचिव भागिराम ओलीले जानकारी दिए । उक्त टोलीमा पर्यटन बोर्डका अधिकारीसहित भारतको लखनउ र बहराईच तथा बाँकेका गरी करिव डेढ दर्जन पत्रकारको सहभागिता रहेको थियो ।
सो क्रममा पर्यटन बोर्डका सिनियर म्यानेजर सुर्य थपलियाले बाँके राष्ट्रिय निकुञ्ज पनि नेपालगन्जसँगै जोडिएको पर्यटनको एउटा आर्कषणको केन्द्र हुन लायक भईसकेको बताए । उनले भने, ‘नेपालगन्ज ब्यापारिक र पर्यटनका हिसाबले हबको रुपमा रहेको छ, बाँके राष्ट्रिय निकुञ्ज कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको नजिक रहेको हुनाले यहाँ पर्यटनको सम्भावना धेरै छ ।’ पाटेबाघ नै निकुञ्जको मुख्य आर्कषण रहेको र अर्को आर्कषण निकुञ्ज नजिक रहेको चुरे पहाड क्षेत्र रहेको उनले बताए ।
-1763741686.jpg)
थपलियाले भने, ‘चुरे पहाड सँग नजिक रहेको हुँदा यसको इकोसिस्टम पनि अरु तराईको निकुञ्ज भन्दा फरक हुन सक्छ, सबै कुरालाई जोड्दाखेरी यसको प्रवद्र्धन आवश्यक छ ।’ तराईमा रहेका थुप्रै निकुञ्ज मध्ये बाँके राष्ट्रिय निकुञ्जको विशेषता अलि फरक रहेको थपलियाको तर्क छ । निकुञ्जबाट तारे होटलदेखी होमस्टे तथा स्थानीय बासिन्दाले समेत आय आर्जन गर्न सक्ने उनको बुझाई छ । निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको छ । उनीहरु निकुञ्जलाई आधार बनाएर पर्यटन प्रवद्र्धन सम्बन्धी काममा लगानी थप्न थालेका छन् ।
अर्कोतर्फ, निकुञ्ज कार्यालयले पनि वन्यजन्तुका लागि विभिन्न स्थानमा घाँसेमैदान, कृत्रिम ताल निर्माण गरेको छ, भने पर्यटकलाई अवलोकन गराउन वनपथ, मचान जस्ता पुर्वाधार बनाएको छ । कार्यालयका अनुसार निकुञ्जभित्र करिव एक दर्जन मचान, दुई सय किलोमिटर भन्दा बढी वनपथ(बाटो), २५ वटा सोलार जडिट ताल, ४ सय ५० हेक्टर क्षेत्रमा घाँसे मैदान, ४ वटा ठुला जलासय निर्माण गरेको छ । निकुञ्जमा पुर्वाधार निर्माण भएसँगै पर्यटन ब्यवसायीले लगानी थप्दैछन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले निकुञ्जमा पर्यटन प्रवद्र्धन सम्बन्धी गतिविधि गरिरहेको छ ।
नेपालगन्जदेखी २०/२२ किलोमिटरको दुरिमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तब्य रहेकाले सम्भावना धेरै रहेको नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले बताए । ‘निकुञ्ज भित्रको बाटो खुल्ला भईसकेको छ, यसले गर्दा निकुञ्जभित्र सहज रुपमा सफारी गर्न सकिन्छ, नेपाल–भारत सिमानाका खुल्ला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्र्याउन सकिने सम्भावना उत्तिकै छ,’ उनले भने ।
