नेपालगन्ज : नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चिनिएको चितवनको सौराहालाई ब्रान्डिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन ‘घुमौं सौराहा’ अभियान टोली नेपालगन्ज आइपुगेको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन, सौराहाको अगुवाइमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ, संस्थाको सहकार्यमा पश्चिम नेपालका प्रमुख पर्यटकीय शहरमा ‘घुमौ सौराहा’ को विशेषता प्रस्तुत गरेर पर्यटकलाई निमन्त्रणा दिने उद्देश्यले अभियान थालिएको हो ।
नेपालगन्ज आइपुगेको ब्यवसायीहरुको टोलीले यहाँका विभिन्न क्षेत्र सम्वद्ध सरोकारवालासँग भेटघाट गरेको छ । यसअघि सुदुरपश्चिम र कर्णाली प्रदेशका प्रमुख शहरमा समेत पुगेर व्यवसायीहरु नेपालगन्ज आइपुगेका हुन् । सो क्रममा क्षेत्रीय होटल संघ नेपाल चितवन, सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवन 'वाइल्ड लाइफ'का लागि मात्रै नभएर धार्मिक पर्यटनका हिसाबले पनि राम्रो गन्तब्य बनेको बताए । सौराहामा हात्ती चढेर सहजै गैडा हेर्न पाइन्छ,’ वाइल्ड लाइफका लागि मात्रै नभएर धार्मिक पर्यटनका हिसाबले पनि गन्तब्य बनेको छ,’ उनले भने ‘चितवन घुम्नको लागि देवघाट, सिजी धाम जस्ता धार्मिक स्थलहरु पनि रहेका छन् ।’ अभियान अन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषक प्याकेज ल्याइएको संघले जनाएको छ ।
थप तस्बिरहरु : भगतराम थारु

कोरोनाकालपछि स्वदेशी पर्यटकको संख्यामा कमी आएपछि पर्यटन उद्योगलाई जिवित राख्न स्वदेशी पर्यटकको साथ खोजिएको सौराहाका ब्यवसायीले बताएका छन् । ‘यहाँको पर्यटन र परम्परागत सँस्कृतिलाई नजिकबाट नियालेर हामी प्रवर्द्धन गर्छौ, तपाईहरुले सौराहाको सफारी पर्यटनलाई प्रदेशभरी फैलाएर यहाँका पर्यटकहरु सौराहा पुग्ने वातावरण बनाइदिन आग्रह गर्दछौ,’ अध्यक्ष पाण्डेले भने ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्धारको रुपमा समेत चिनिएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित सौराहा राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज नजिक अवस्थित छ । संघका अनुसार विगत ५० वर्षको इतिहास बोकेको सौराहासहित चितवनमा वार्षिक ४ लाख पर्यटक आउने गर्दछन् । सौराहामा १ सय ५० सहित जम्मा चितवनमा २ सय ५० वटा होटल र १ सय वटा रेष्टुरेन्ट छन् । सौराहामा ९ हजार सहित जिल्लाभित्र १५ हजार बेड क्षमता रहेको छ । संघका अनुसार सौराहामा १ हजार देखी २ हजार ५ सय क्षमताका सभाहल छन् । यहाँ निकुञ्ज भित्र १ सय र मध्यवर्ती क्षेत्रमा १ सय गरी २ सय वटा जिप सफारी सञ्चालनमा रहेका छन् ।
चितवनमा निजी ६० र सरकारी ५६ वटा हात्ती छन् । ‘निजी हात्तीले पर्यटकलाई सफारी गराउँछन् भने सरकारी हात्ती वन्यजन्तु संरक्षणमा प्रयोग गरिन्छ, घुमौ सौराहा चितवन मार्फत हामीले चितवन भित्रिने पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिएका छौं,’ संघका महासचिव महेश खनालले भने ।

महासचिव खनालका अनुसार सौराहामा थारु सँस्कृति झल्कने कटेज शैलीका होटलहरुको साथै पश्चिमी शैलीको होटेल र रिसोर्टहरु, रेष्टुरेन्टहरु, इन्टरनेट क्याफेहरु र उपहार पहलहरुले भरिएको सानो शान्त शहरमा परिणत हुदै गएको बताइएको छ । सौराहामा करिव २५ सय जनाको क्षमता भएको सिटी हल निर्माण पश्चात सञ्चालनमा आएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गर्न मिल्ने यस हल सञ्चालनले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको संघले जनाएको छ ।
नेपालगन्जमा आइतबार बेलुका आयोजित भेटघाट कार्यक्रममा प्रमुख अतिथी एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, संघका पुर्वअध्यक्ष एवम पर्यटन प्रवद्र्धन मञ्ज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हान बाँकेका दिवाकर खनाल, वरिष्ठ उद्योगपति प्रदिप छाजेड, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, महिला उद्यमी कल्पना शर्मा लगायतले चितवन र बाँकेलाई पर्यटनसँग जोड्नका लागि यातायात सुविधा सहज बनाइनुपर्नेमा जोड दिए । नेपालगन्ज र चितवनबीच सिधा हवाई सेवा जोड्नुपर्ने सरोकारवालाको सुझाव छ । उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय होटल संघ नेपाल चितवन, सौराहाका महासचिव खनालले गरेका थिए ।




