नेपालगन्ज : नेपालगन्जमा गर्न लागिएको ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ लाई भब्य र सभ्य बनाउन यहाँका सरोकारवाला एकमत भएका छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा उक्त कार्यक्रम गर्ने तय भईसकेको छ ।
कन्क्लेभलाई सफल पार्न नेपालगन्जमा शनिबार बिहान आयोजित छलफलमा उपस्थित भएका सम्बद्ध सरोकारवालाले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन गर्न लागिएको ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ महत्वपूर्ण रहेकोमा जोड दिए । नाट्टा बाँके च्याप्टर अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ एउटा महत्वपूर्ण कार्यक्रम रहेको बताए ।
नेपाल पर्यटन बोर्डले आयोजना गर्ने उक्त कार्यक्रमलाई नाट्टा बाँकेले संयोजन गर्न लागेको उनले बताए । ‘‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ यहाँका समग्र पर्यटन ब्यवसायीको साझा कार्यक्रम हो, हामीले संयोजन गर्दैछौं,’ उनले भने, ‘पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाट्टाले निवर्तमान अध्यक्ष श्रीराम सिग्देल ज्युको नेतृत्वमा विगतदेखी नै जसरी विभिन्न कामहरु गरिरहेको छ, यहाँका समग्र पर्यटन ब्यवसायी बीचको साझेदारी पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।’

नाट्टा बाँके च्याप्टरका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ले दुबै देशको पर्यटन ब्यवसायको अनुभव आदान–प्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा दुई देशको सिमाक्षेत्रमा आउने गरेका समस्यालाई समाधान गर्नका लागि नीति, निर्माताबीच बृहत रुपमा छलफल हुने बताए । कन्क्लेभसँगै ‘बि टु बि’ सेसन पनि हुने उनले जानकारी दिए ।
निवर्तमान अध्यक्ष सिग्देलका अनुसार डिसेम्भर १९ तारिखका दिन बेलुका नेपाल र भारत दुबै देशका पर्यटन साझेदार, सरोकारवाला सरकारी निकायलाई स्वागत गरिनेछ । यस्तै भोलिपल्ट डिसेम्भर २० तारिखका दिन बिहान पहिलो शत्रमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने र दोस्रो शत्रमा ‘बि टु बि’ गरिनेछ ।
उक्त दिन बेलुका नेपाली साँस्कृतिक कार्यक्रम अवलोकन गराउने र २१ तारिखका दिन बिहान बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने कार्यक्रम रहेको निर्वतमान अध्यक्ष सिग्देलले जानकारी दिए । नेपालगन्जलाई ट्रान्जिट प्वाइन्टका लागि मात्रै नभएर अब पर्यटकीय हब तथा गन्तब्यका रुपमा चिनाउन भारतीय पर्यटन ब्यवसायी, सरोकारवालाबीच हुने ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ कार्यक्रम उपयोगी हुने उनको विश्वास छ ।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लायन्स क्लबका पुर्वगर्भनर सेम शाक्य, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, सामाजिक अगुवा मिनबहादुर मल्ल, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी ओली, बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ, स्पा एशोसियशन बाँकेका अध्यक्ष अमर बिरही श्रेष्ठ, हान बाँकेका उपाध्यक्ष केशव न्यौपाने, महेन्द्र बहुमुखी क्याम्पसका हरि सुवेदी, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम मार्केटिङ म्यानेजर नवीन भट्ट, पर्यटन ब्यवसायी अर्सद कमाल लगायतले ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’लाई सफल पार्न यहाँका सबै पर्यटन ब्यवसायी तथा सरोकारवाला एकमत हुनुपर्नेमा जोड दिए । नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीले सञ्चालन गरेको छलफल कार्यक्रममा उपाध्यक्ष झबिलाल शर्माले स्वागत गरेका थिए ।