नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ गोभारपुर गाउँमा स्थापना भएको ‘अगैया स्प्रिङ रिभर साईट रिसोर्ट' नयाँ पर्यटकीय गन्तब्य बन्दै गएको छ । कोहलपुरका ब्यवसायी देवानन्द अर्यालले उक्त रिसोर्ट हालै सञ्चालनमा ल्याएका हुन् । रिसोर्टले पछिल्लो समयमा स्वदेशी र विदेशी पाहुनाको ध्यान तान्न थालेको छ ।
रिसोर्टमा बास बस्नुका साथै नेपाली, इण्डियन, चाईनिज र कन्टिनेन्टल खानाका परिकार सहित निकुञ्जभित्र जंगल सफारी र राप्ती नदीमा बोटिङ तथा र्याफ्टिङ गर्ने सुविधा रहेको छ । रिसोर्टमा बस्न आउने ब्यक्तिलाई छुट्टै खालको आनन्द महसुस हुने सञ्चालक अर्यालले बताए ।
भिडियो रिपोर्ट हेर्नुस् :
पुर्व–पश्चिम राजमार्गबाट एक किलोमिटर दक्षिण राप्ती नदी किनारमा करिव एक विघा क्षेत्रफलमा रिसोर्ट फैलिएको छ । रिसोर्टमा अहिले बोटिङ तथा र्याफ्टिङ, जंगल सफारी, क्याम्प फायर, खाना, खाजा खानका लागि दैनिक रुपमा ठुलो संख्यामा मानिसहरु पुग्ने गरेका छन् । कतिपय ब्यक्तिहरु फोटो खिच्नकै लागि पनि रिसोर्टमा आउने गरेको सञ्चालक अर्यालले बताए ।
‘जंगल र पानीसँग गतिविधि गर्न चाहने विशेषगरी बाँके राष्ट्रिय निकुञ्जको पाटेबाघ बस्ने विशेष क्षेत्र भएकाले पर्यटकका लागि उचित गन्तब्य रहेको छ,’ अर्यालले भने, ‘रिसोर्टमा केही विदेशी पाहुनासहित नेपालगन्ज, कोहलपुर, दाङ तुलसीपुर, सुर्खेत लगायत ठाउँबाट आउने गरेका छन् ।’ रिसोर्टमा ‘डच फ्रेम’ प्रविधिका घरहरु निर्माण गरिएको छ ।

जस अनुसार ठुलो ८ वटा, सानो ६ वटा घर रहेका छन् । जसमा ३ सय जना अट्ने ठुलो हल पनि रहेको छ । यसका साथै रेष्टुरेन्ट, बार, स्वीमिङ पुल निर्माण गरिएको छ । रिसोर्ट परिसरमा ५० वटा जति कार र करिव डेढ सय वटा मोटर साईकल पार्किङ गर्न मिल्ने क्षेत्र छुट्याइएको छ ।
‘कुल १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म रिसोर्टमा १२ करोड खर्च भईसकेको छ,’ सञ्चालक अर्यालले भने । दैनिक ९० जना सम्म पाहुना बस्न मिल्ने गरी कोठा तयार भईसकेका छन् । उक्त रिसोर्टले स्थानीय २१ जना ब्यक्तिलाई रोजगारी दिएको छ । विगत दुई महिनादेखी आंशिक रुपमा रिसोर्ट सञ्चालनमा आएपछि गाउँमा किसानले उत्पादन गरेका लोकल कुखुरा, खसी, तरकारी, अन्नपात यतै खपत हुने गरेको छ ।





