नेपालगन्ज : मस्तिष्कघात सम्बन्धी समस्या भएका बिरामीले अबदेखी बाँकेमै 'विशिष्टकृत उपचार सेवा' पाउने भएका छन् । सञ्जिवनी कलेज र नेपालगन्ज मेडिकल कलेजले शुक्रबारदेखी उक्त उपचार सेवा औपचारिक रुपमा प्रारम्भ गरेका हुन् । ‘टाइम इज ब्रेन’ भन्ने स्लोगन सहित सञ्जिवनीमा ‘कम्प्रिहेनसिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।
उक्त सेन्टरमा ब्रेनहेमरेज अर्थात मस्तिष्कघात भएर गम्भिर भएका बिरामीको तत्कालै उपचार गर्ने ब्यवस्था मिलाइएको सिइओ डा. नितेश कुमार कनोडियाले जानकारी दिए । यस्तै नेपालगन्ज मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा पनि ‘प्राइमरी स्ट्रोक केयर सेन्टर’ सञ्चालनमा ल्याइएको उनले बताए । अस्पताल सञ्चालक डा. सुरेशकुमार कनोडिया र नेपालगन्ज अस्पतालका प्रमुख डा. एम. किदवाईले उक्त सेवा संयुक्त रुपमा प्रारम्भ गरे ।

‘कम्प्रिहेनसिभ स्ट्रोक सेन्टर’ मा १६ शैयाको आईसियु कक्ष रहनुका साथै कन्सल्टेन्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतिको नेतृत्वमा न्युरो सर्जन डा.निरज घिमिरे, मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) डा. कृष्णचन्द्र अधिकारी, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. लेखनाथ बराल लगायतको टिम खटिने अस्पतालले जनाएको छ । यसैगरी शिक्षण अस्पताल कोहलपुरमा स्थापित ‘प्राइमरी स्ट्रोक केयर सेन्टर’मा न्युरो सर्जन डा. सुबोध गौतम नेतृत्वको टिम खटिने डा. कनोडियाले बताए ।

कार्यक्रममा न्यूरो सर्जन डा. सुबोध गौतम, डा. निरज घिमिरे, डा. कृष्णचन्द्र अधिकारी, डा. लेखनाथ बराल, डा. आशिम किदवाई लगायतले मस्तिष्कघात समस्या लगायत यससँग जोडिने स्वास्थ्य समस्याबारे प्रस्तुतीकरण गरेका थिए । सो क्रममा नेपालगन्ज मेडिकल कलेजका सिइओ डा. सन्तोष बि.एन., डा. केदार अग्रवाल, सञ्जिवनी अस्पतालका सुपरिटेण्डेन्ट डा. रोमन किदवाई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदी, विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, पत्रकार लगायत स्वास्थ्य क्षेत्रका विशिष्ट ब्यक्तिहरु उपस्थित भएका थिए ।


