बाँके (राप्ती सोनारी) : सिक्टा सिंचाइ आयोजनाको पुर्वी मुल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ स्थित लटनिया गाउँबाट शाखा नहर निर्माणको काम सुरु गरिएको हो । पुर्वी मुल नहरमा पानी चलेपनि आयोजना कार्यालयले आफ्नै शाखा बनाएको थिएन ।
स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर खेतबारीमा सिंचाइ गर्दै आएका थिए । पुर्वी मुल नहरको केही क्षेत्रसम्म पानी चलेपनि पहिलो नयाँ शाखा निर्माण गर्न लागिएको सिक्टा सिंचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिएका छन् ।
आयोजनाको पुर्वी मुल नहरमा पहिलो नयाँ शाखा निर्माण गर्ने अवस्थामा आईपुग्दा सबैको साथ र सहयोग पाएको उनले बताए ।
निर्देशक आचार्यले भने, ‘सबैको सहयोगले गर्दा हामी पुर्वी मुल नहरमा पहिलो शाखा नहर निर्माणको चरणमा आईपुगेका हौं । आयोजनाका इन्जिनियिर विनेश श्रेष्ठले गुरुयोजना अनुसार उक्त शाखा नहरको लम्बाई ४ किलोमिटर रहनेछ । शाखा नहरको १.४ किमीबाट प्र-शाखा नहर निर्माण गरिने र शाखामा ३ वटा जति प्र-शाखा नहर रहने उनले बताए । शाखा नहर निर्माणको जिम्मा पि.एस. निर्माण सेवाले लिएको छ । यसका लागि ५ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।
शाखा नहरबाट ६ सय ७० हेक्टर क्षेत्रमा सिंचाइ गर्ने लक्ष्य लिइएको छ । शाखा नहरबाट सतह सिंचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्याउन लिफ्ट सिंचाइको बैकल्पिक ब्यवस्था गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ । लिफ्ट सिंचाइका लागि साढे ५ करोड रुपैयाँमा ठेक्का लागेको इन्जिनियर श्रेष्ठले बताए । ‘सतहबाट नभेटेको क्षेत्रमा सिंचाइको ब्यवस्था मिलाउन लिफ्ट सिंचाइ बनाउन लागेका हौं,’ उनले भने ।
राप्ती सोनारी-४ लटनिया गाउँमा बिहीबार शाखा नहर शिलान्यास गरेका गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सिक्टा सिंचाइ आयोजनाले किसानको खेतमा पानी पुर्याउनुपर्ने बताए । ‘हामी सबै कृषिमा विश्वास गर्छौ, किसानलाई पानी चाहिएको छ,’ उनले भने ‘मुआब्जाको विषयलाई पनि सँग-सँगै समाधान गरेर काम अगाडी बढाउनु पर्छ । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोएपनि सतह सिंचाइ नपुग्ने ठाउँमा बैकल्पिक ब्यवस्था गरिदिनुपर्ने पौडेलको सुझाव छ ।
सो क्रममा गाउँपालिका अध्यक्ष पौडेलसहित आयोजना निर्देशक आचार्य, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, राप्ती सोनारी-४ का वडाअध्यक्ष मिनराज खड्का, राष्ट्रिय सिंचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगी, आयोजनाका इन्जिनियर तथा कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो ।