नेपालगन्ज : नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट(डब्लुटिएम)को तेस्रो संकरण गरिदैछ । यसक्षेत्रमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा यही जेठ २४ देखी २६ गतेसम्म गर्न लागिएको हो । आयोजक मूल समितिले नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा (नाट्टा) बाँकेका अध्यक्ष एवम् वेष्टर्न ट्राभल मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले मार्टले नेपालगन्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्धारको रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्यको जिल्ला बनाउने लक्ष्य लिएको बताए । मार्टको तेस्रो संस्करणमा भारतका महत्वपूर्ण पर्यटकीय शहरहरु बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर अपरेटरहरुको सहभागिता रहने निश्चित भइसकेको बताए । भारतीय ट्राभल टुर अपरेटर, इन्फ्ल्युन्सर, पत्रकार, ब्लगर र सामाजिक सञ्जाल प्रयोगकर्ता तथा देशभरबाट पर्यटन व्यवसायीहरु पनि सहभागी हुने उनले बताए ।
आयोजकका अनुसार मार्टमा टुर अपरेटर र पर्यटन व्यवसायीहरु बीच व्यवसायिक सम्बन्ध स्थापना र सहकार्यका लागि अनुभव आदान–प्रदान गरिनेछ, भने सहभागीहरुलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको परिचयात्मक भ्रमण गराइनेछ । यसले यस क्षेत्रको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको विविधतालाई उजागर गर्ने विश्वास लिइएको छ ।
‘कर्णाली नदीमा र्याफ्टिङको अनुभव प्रदान गरिनेछ, जसले साहसिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ, परम्परागत स्थानीय रैथाने परिकारहरुको प्रर्दशनी गरिनेछ, जसले यस क्षेत्रको साँस्कृतिक विविधतालाई दर्शाउनेछ, त्यसका लागि पहिलो पटक त्रिभुवन चोकमा नेपालगन्ज स्ट्रिट फुडलेन गरिदैछ ,’ संयोजक सिग्देलले भने । मार्टमा सहभागी हुन आएका भारतीय पर्यटन व्यवसायीलाई नेपालगन्जमा रहेका क्यासिनो र प्रमुख होटलहरुको भ्रमण गराइनेछ । ट्राभल मार्टले नेपालगन्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
‘मार्टको निरन्तरता र विशेषताले मुख्यतः भारतसँग नेपालको पर्यटकीय सम्बन्धलाई अझ सुदृढ पार्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ,’ संयोजक सिग्देलले थपे । पत्रकार सम्मेलनमा नाट्टाका पुर्वकेन्द्रिय अध्यक्ष अच्युत गुरागाई, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नन्दलाल बैश्य लगायतले ट्राभल मार्ट सफल बनाउन सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।