नेपालगन्ज : नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को तेस्रो संस्करण सञ्चालनमा ल्याइएको छ । नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा शनिबारदेखी मार्ट सञ्चालनमा ल्याइएको हो । पश्चिम क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योगा बाणिज्य संघ, होटेल एसोसियसन र होटेल व्यवसायी बाँकेको सहकार्यमा उक्त मार्ट यही जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
मार्ट उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरले विदेशी पर्यटकलाई आर्कषित गर्ने योजना निर्माणमा गर्नुपर्नेमा जोड दिए । पर्यटकका लागि बाँके र बर्दियामा चार तारे होटेलको स्तरमा पर्याप्त मात्रामा होमस्टे निर्माण भएको बताए । बाँके र बर्दियामा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै सांसद राठौरले भने, ‘पर्यटकहरु घुमफिर गर्नको लागि पश्चिम नेपालमै धेरै सुन्दर ठाउँहरु रहेका छन् ।’ पर्यटन ब्यवसायीले यि ठाउँहरुमा विदेशी पर्यटकलाई घुमाउनुपर्नेमा जोड दिए ।

यस्तै लुम्विनी प्रदेशका सांसद मीना श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि नीति र योजना निर्माण गर्नुपर्ने बताइन् । नेपालगन्जमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उनको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले भारत र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन ट्राभल मार्टले सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । नेपालमा धार्मिक पर्यटकीय स्थलको अवलोकन गराउन भारतीय पर्यटन ब्यवसायीलाई उनले आग्रह गरे । प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिर रहेको नेपालगन्ज पनि धार्मिक पर्यटनको गन्तव्य हुन सक्ने नगर प्रमुख बिष्टले बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य नरेन्द्रदेव भट्टले मुलुकको पर्यटन प्रवद्र्धनका लागि पर्यटनमैत्री वातावरण हुनुपर्ने बताए । विदेशी पर्यटकलाई घुमाउन थुप्रै पर्यटकीय पुर्वाधार निर्माण भईसकेको दाबी गरे । भारत, लखनउका पर्यटन व्यवसायी राजेश सिन्हाले नेपाल र भारतबीचको आपसी सद्भावले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतीय पर्यटकलाई नेपाल आउँदा सम्मानपूर्वक आउने वातावारण हुनुपर्ने बताए । पर्यटन प्रर्वद्धनका लागि पछिल्लो समयमा नेपालमा प्रभावकारी काम भएको सुनाए । मूल समितिका संयोजक सिग्देलका अनुसार मार्टमा भारतको पर्यटकीय शहर बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ३५ भन्दा बढी टुर अपरेटर सहभागी छन् । उक्त मार्टले नेपालगन्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्वारको रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्यको जिल्ला बनाउने लक्ष्य लिएको छ ।
मार्टमा टुर अपरेटर र पर्यटन व्यवसायीहरू बिच व्यवसायिक सम्बन्ध स्थापना र सहकार्यका लागि अनुभव आदान–प्रदान समेत गरिएको छ । ‘सहभागीहरूलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको परिचयात्मक भ्रमण गराइनेछ, यसले यस क्षेत्रको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको विविधतालाई उजागर गर्नेछ,’ सिग्देलले भने, ‘कर्णाली नदीमा र्याफ्टिङको अनुभव प्रदान गरिनेछ, जसले साहसिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ ।’ मार्टको सन्दर्भमा नेपालगन्जमा परम्परागत स्थानीय रैथाने खानाका परिकारको प्रवद्र्धन पनि गरिएको छ । स्थानीय त्रिभुवन चोक क्षेत्रमा पहिलो पटक सांस्कृतिक विविधतालाई झल्काउँदै ‘नेपालगन्ज स्ट्रिट फुडलेन’ सञ्चालनमा ल्याइएको हो ।
