नेपालगन्ज : नेपालगन्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज-१८ कारकाँदोमा बुधबार एक कार्यक्रमका बीच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथी यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको बताउनु भयो । स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेकाले उक्त मागलाई पुर्ति गर्न ट्रेनिङ सेन्टरले भुमिका खेल्ने बताउँदै भने, ‘नगरपालिकाले ट्रेनिङ सेन्टरसँग समन्वय गरि दक्ष जनशक्ति उत्पादन गर्नेछ ।’
रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपमुलक तालिम लिन जरुरी रहेको बताउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरुलाई सीपमुलक तालिम दिनका लागि स्थापना गरिएको ट्रेनिङ सेन्टर पश्चिम नेपालकै तालिम दिने थलो बन्ने उल्लेख गरे ।
सेन्टरका निर्देशक भोदुराम थारुले व्यवसायिकता र तालिमको महत्व बुझाउँदै भने, ‘हामी दक्ष तालिम र रोजगारीका अवसलाई जोड्ने लक्ष्य सहित अघि बढिरहेका छौँ, लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपाली युवालाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्नेछ ।’ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताए ।
उनले नेपालगन्जका युवा विदेश गएपनि तालिम अभावले गर्दा चाहेको जस्तो रोजगारी नपाउने गरेको गुनासोहरु आउने गरेको बताए । आगामी दिनमा बैदेशिक रोजगार र स्थानीय स्तरमा रोजगारी गर्न चाहने युवाको पहिचान गरि सेन्टरमार्फत आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरि तालिम सञ्चालन गर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ मिना मल्ल पुन, मधुवन नगरपालिकाका पुर्वमेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षकद्धय नरबहादुर राउत र शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खड्का, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जीवन मल्ल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश शर्मा, समाज सेवी अमर भण्डारी, लियाना मेनेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका भान्से लक्ष्मण प्रसाद भण्डारी लगायतले सीप विकास, व्यवसायिकता र आपसी सहकार्यको महत्वमा जोड दिएका थिए ।
सोही कार्यक्रममा बाँकेबाट हालै सरुवा भएका राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खड्कालाई मायाको चिनो प्रदान गर्दै नयाँ कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो । ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन–पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा लगायत रहेका छन् ।
कक्षा कोठाहरू २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमताको रहेको सेन्टरका सिइओ अभिषेक थारुले जानकारी दिए । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षकद्वय, अनुसन्धान विभागका उपनिर्देशक ओम खड्का लगायत बाँके बर्दियाका जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित भएका अतिथीहरुलाई लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका लेखा अधिकृत बिमला शर्माले फुलमाला र खादाले स्वागत गरेकी थिइन् ।