बाँके (मानपुर) : बाँकेको जानकी गाउँपालिकाले आफ्ना महत्वपूर्ण नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालय मानपुरमा १७ औं सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छोरी सम्झाउ कार्यक्रम लागु गर्ने उल्लेख छ । यस्तै पशु अस्पताल बनाउने पनि गाउँपालिकाले नीति लिएको छ ।
सभामा गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट प्रवक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम अनुसार कृषि प्रोफाइल तयार गर्ने, युवा स्वरोजगार कार्यक्रम गर्ने, कृषक अनुदान कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, पशु अस्पताल बनाउने, पशुहरुलाई निःशुल्क खोप लगाउने लगायत रहेका छन् ।
यस्तै जानकीमा १५ शैयाको अस्पताल छिटो भन्दा छिटो सञ्चालन गर्ने, सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर विस्तार गर्ने, सुत्केरीलाई उपाध्यक्ष कोशेली प्याकेज वितरण गर्ने, नसर्ने रोगको पहिचान गर्न ४० वर्ष माथिका सबैको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने, वेरोजगारीको तथ्यांक अद्यावधिक र विश्लेषण गर्ने र रोजगारी सिर्जनामा जोड दिने पनि नीति लिइएको छ ।
यसैगरी अति विपन्नलाई उद्यमशिलताका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, सहकारीको नियमन र व्यवस्थापन गर्ने, परम्परागत सँस्कार र सँस्कृतिको संरक्षण र संवद्र्धन गर्ने, नमुना पार्क बनाउने लगायत नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत बिकका अनुसार गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि गाउँपालिकाको पञ्च वर्षीय नीतिलाई कार्यान्वयनमा जोड दिने, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयसम्म ल्याउन र टिकाउन काम गर्ने, जग्गा नभएका र आफ्नै भवन नभएका वडा कार्यालयका हकमा जग्गा खरिद र कार्यालय बनाउने, मूल सडकसँग जोडिने सहायक सडकको स्तरोन्नती गर्ने, योगा हल निर्माण गर्ने लगायत नीति लिइएको छ ।
सभाको दोस्रो बैठक सोमबार (आज) पुनः बस्ने भएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बिकले बताए ।