बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय रामपुरमा १८ औं सभामा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पशु, पंक्षी, मत्स्यपालन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, उद्योग, युवा तथा खेलकुद, पर्यटन, भौतिक पुर्वाधार, वन तथा वातावरण, सुशासन तथा सेवा प्रवाह, महिला, बाल बालिका जेष्ठ नागरिक, अपांगता, दलित, अल्पसंख्यक, विधायन तथा वित्तीय अनुशासन लगायत क्षेत्रलाई समेटिएको छ ।
गाउँपालिकाभरीका समग्र कृषि र पशुपालक व्यवसायिक किसान, साना किसान, अति विपन्न किसानहरुको आर्थिक स्तरलाई ध्यानमा राखी ७० प्रतिशत अनुदान र पूर्ण अनुदानमा कृषी उत्पादन ‘म र मेरो परिवारको बाँच्ने आधार’ भन्ने मूल नाराका आधारमा किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने नीति लिइएको छ । यस्तै शिक्षक बैंक स्थापना गरी स्वयं सेवक शिक्षक परिचालन गरिने, सञ्चार क्षेत्रको संस्थागत विकास नयाँ पत्रकार उत्पादन पत्रकारहरुको क्षमता विकास लेखनवृत्ति कार्यक्रम सञ्चालन गरिने, स्थानीय सरकारको तर्फबाट प्रेस अभिव्यक्ति स्वतन्त्रताको वातावरण कायम राखिने, सार्वजनिक निकाय संघ, संस्थाहले अनिवार्य रुपमा बैजनाथ गान बजाउनुपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी सिकलसेल एनिमिया रोकथामका लागि सचेतना तथा रक्त नमुना परिक्षण बिद्यालय तथा समुदाय स्तरमा निःशूलक चेकजाँचको शिविर सञ्चालन प्रक्रियालाई निरन्तरता दिइने, हाल बढ्दो क्यान्सर रोगबाट पीडित भई जनधनको क्षति न्यूनिकरण गर्नका लागि क्यान्सर रोग सम्बन्धि समुदाय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने, इ-डिजिटल प्रविधी मैत्री सामुदायिक बिद्यालय सञ्चालन गरिने, स्थानीय सरकारको सिफारिसमा संस्थागत बिद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नीतिलाई निरन्तरता दिने, गरिव तथा विपन्न छात्राहरुको लागि छात्रवृत्तिको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरुमा कक्षा ८, ९ र १० का बिद्यार्थीहरुलाई साप्ताहिक सहकारी शिक्षा तथा पूर्व व्यवसायिक शिक्षा मार्फत पढ्दै कमाउँदै कार्यक्रमको थालनी गरिने, बैजनाथ गाउँपालिकामा सम्पन्न भएका ११ वटा ओभरहेड खानेपानी ट्यांकी मार्फत शुद्ध पिउने पानी उपलब्ध गराउनलाई विभिन्न भौतिक पुर्वाधारका कार्यक्रमलाई निरन्तरता दिइने, राशायनिक मलको प्रयोगलाई न्यूनिकरण गरी प्रांगारिक मलको उत्पादनलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै रैथाने जानको पशुपंक्षीपालक किसानलाई प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गरिने, नश्ल सुधारकाा लागि बोका, राँगा, बीउ, बाख्रा व्यवसायिक किसानलाई अनुदानमा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत सिंचाई अन्तर्गत पम्पसेट, सेक्सन पाइप, कटन पाइप, डेलिभरी पाइप, नाइलन पाइप, स्यालो ट्युवेल, लालटिन मोटर र मोटरमा ७० प्रतिशत अनुदान र विपन्न व्यवसायिक किसानलाई पूर्ण अनुदानमा कार्यक्रम सञ्चालन गरिने, कृषि यान्त्रीकरणमा मिनी टिलर, पावर टिलर, कल्टिवेटर सेट, ई–लोेडिङ रिक्सा, डिजिटल तराजु ७० प्रतिशत अनुदानका लागि बजेटको व्यवस्था गरिने, तरकारी बजारीकरणका लागि ठेला गाडा वितरण कार्यक्रम सञ्चालन गरिने, स्मार्ट कृषि मोवाइल एप्स सञ्चालनमा ल्याइने, किसान कल सेन्टरको निरन्तरता दिइने, बाख्रा नश्ल सुधारका लागि ७० प्रतिशत अनुदानमा बोका वितरण गरिने, बंगुरका पाठापाठी ७० प्रतिशत अनुदानमा वितरण गरिने, बिद्युतीय चारा मेसिन ७० प्रतिशत अनुदानमा वितरण गर्ने लगायत नीति तथा कार्यक्रम राखिएको अध्यक्ष शाहीले बताए ।
त्यसैगरी समस्यामा परेका सहकारी तथा वचत फिर्ता नगरेका सहकारी तथा सदस्य र कर्जा नबुझाउने सदस्यहरुको वास्तविक समस्या बुझी अविलम्ब समस्याको समाधान गर्न तत्पर रुपमा लागिने, सहकारी मल–गोदाम घरको व्यवस्थामा निरन्तरता दिइने, वर्ष उत्कृष्ठ खेलाडीलाई छात्रवृत्ति पुरस्कार प्रशिक्षणका लाििग सहायकता प्रदान गरिने, खेलकुद विकास कोषको स्थापना गरिने, बैजनाथ गाउँपालिका–३ स्थित कन्वा ताल सिमसार क्षेत्र गाभरभ्याली लायन्स पार्क, मानसरोवर पार्क, बानियाभा–४ बोरिङ बस्तीमा बनभोज स्थल स्थापना गरी उक्त क्षेत्रमा पर्यटन सौन्दर्य बढाउन आवश्यक पुर्वाधार निर्माण गरिने, पर्यटन विकास कोष सञ्चालन गरिने, बैजनाथ गाउँपालिकाको पर्यटन गुरुयोजना तयार गरी पर्यटकीयस्थलको प्रचार–प्रसारमा जोड दिने नीति लिइएको छ ।
शिक्षातर्फ पुराना बिद्यालय भवनलाई विस्तारै सुविधा सम्पन्न निर्माण गरिने, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि स्थानीय जोखिम नक्सा तयार गरिने, वन वातावरण सम्बन्धी संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गरिने, विपदको पूर्वतयारीका लागि बारुण यन्त्र (दमकल) खरिद गरिने साथै आवश्यक सामाग्रीकिो व्यवस्थापन गरी आपतकालिन सेवा केन्द्र गरिने, सडकको मापदण्ड पुगेको क्षेत्रमा दुबैतर्फ विरुवा लगाइने, कृषि शिक्षाको गुरुयोजना निर्माण गरिने, किशोरी आत्मरक्षा कार्यक्रमलाई निरन्तरता दिइने, एक वडा एक बाल उद्यान कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने, एकल पुरुष आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष थप सहयोग ५ सय दिने नीति लिइएको छ । यस्तै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने, विपन्न जेष्ठ नागरिकलाई जिल्लाभरी उपचार प्रयोजनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदानलाई निरन्तरता दिइने, जेष्ठ नागरिकका ज्ञान सिप अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी अपांगता भएका बालबालिकालाई विशेष समावेशी शिक्षाको पहुँचका लागि पहल गरिने, अपांगता भएका व्यक्तिहरुका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, गर्भवती सुत्केरी महिला तथा किशोरीहरुको लागि पोषण कार्यक्रम लागु गरिने, कक्षा ८ देखी १२ सम्म पढ्ने किशोरीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिने, छुवाछुत विरुद्धका घटना निविारण तथा कारबाहीका लागि स्थानीय समिति गठन गरिने, जारु जातिमा लाग्ने सिकलसेल एनिमियाको विशेष शिविर सञ्चालन गरिने, बैजनाथ गाउँपालिकामा थारु बाहुल्यता भएका बस्तीलाई नमूना थारु गाउँ घोषणा गरिने, लोपउन्मुख, मधेसी, मुस्लिम, पिछडावर्ग, यौनिक तथा अल्पसंख्यकलाई शिप विकास तालिम सञ्चालन गरिने, मुस्लिम बालबालिकाका लागि लक्षित छात्रवृत्ति पोशाक शिक्षण सामाग्री वितरण गरिने, राजश्व संकलन र व्यवस्था गर्न बिद्युतीय सफ्टवेयरको प्रयोग गर्ने लगायतका नीति लिइएको अध्यक्ष शाहीले बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत भईसकेपछि सभाको मंगलबार बस्ने बैठकमा उपाध्यक्ष निर्मला रोकायले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । उनका अनुसार सभाध्यक्ष एवम गाउँपालिका अध्यक्ष शाहीले मंगलबार दिउँसो २ बजेका लागि सभामा उपस्थित हुन सबै सदस्यहरुलाई आब्हान गरेका छन् ।