नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नेपालगन्जको भवानीयापुरस्थित सिटी हलमा मंगलबार नगर उपप्रमुख कमरुद्धिन राईले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आय/व्यय विवरण सार्वजनिक गरे ।
बजेटमा चालूतर्फ ३८ करोड ५६ लाख रुपैयाँ, आम्दानीतर्फ बित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख रुपैयाँ प्रक्षेपण गरिएको छ । बजेटमा उपमहानगर भरी रहेका २३ वटै वडा कार्यालयका लाििग २० करोड रुपैयाँ र महाशाखा शाखामार्फत सञ्चालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सभामा नगर प्रमुख प्रशान्त बिष्टले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार, कृषि, पर्यटन, उद्योग ब्यापार, रोजगार लगायत क्षेत्रलाई समेटिएको छ ।
नगर सभामा नगर सभाका सदस्यहरु उपमहानगरपालिकाका प्रवक्ता एवम् नेपालगन्ज–१ का वडाअध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडाअध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगन्ज–४ का वडाअध्यक्ष गोपाल पुन, नेपालगन्ज–५ का वडाअध्यक्ष सराफत हुसेन शेख, नेपालगन्ज–१८ का वडाअध्यक्ष दीपककुमार बर्मा, नेपालगन्ज–२० का वडाअध्यक्ष कौशलकुमार धोबी, नेपालगन्ज–२१ का वडाअध्यक्ष राजकुमार साहु लगायतले शुभकामना ब्यक्त गरेका थिए, भने सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले स्वागत गरेका थिए ।


