बाँके(रामपुर) : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८ औं गाउँसभामा मंगलबार उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष रोकायले आयतर्फ संघिय समानीकरण रकम १५ करोड ४२ लाख, प्रदेश सरकार समानीकरणतर्फ १ करोड ७ लाख ४४ हजार, संघिय सरकार सशर्त चालु रकम २९ करोड ४८ लाख, संघिय सरकार पुँजीगत रकम ११ करोड ५९ लाख, प्रदेश सरकार सर्शत पुँजीगत रकम ७० लाख, संघिय सरकार विशेष अनुदान रकम ६७ लाख, प्रदेश सरकार विशेष अनुदान रकम १७ लाख, संघिय सरकार समपूरक अनुदान रकम ८६ लाख, प्रदेश सरकार समपूरक अनुदान रकम ७५ लाख, संघिय सरकार राजश्व रकम १३ करोड ७२ लाख र प्रदेश सरकार राजश्व रकम १ करोड २८ लाख ५ हजार बजेट प्रस्तुत गरिन ।

आन्तरिक आय तर्फ ४ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । गाउँपालिकाले वडागत पुर्वाधार विकास तर्फ ५ करोड बजेट बिनियोजन गरिएको छ । पुर्वाधार विकासका लागि अनुमानित १३ करोड ६४ लाख बजेट प्रस्ताव गरिएको उपाध्यक्ष रोकायले बताइन् । यस्तै स्वास्थ्य क्षेत्रका लागि ८ करोड ३३ लाख बजेट प्रस्ताव गरिएको छ ।
गाउँपालिकाको समग्र शिक्षा प्रणालीमा सुधार गर्ने, शिक्षा क्षेत्रको समग्र विकास तथा ब्यवस्थापनको लागि समग्र शिक्षा क्षेत्रमा ३० करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन, अतिरिक्त क्रियाकलाप सञ्चालन लगायत खेलकुद क्षेत्रमा १३ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष रोकायले जानकारी दिइन् । यसैगरी लैंगिक समानता तथा सामाजिक समावेशिकरणका क्षेत्रमा अनुमानित १ करोड ५१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

गाउँपालिका क्षेत्रमा खानेपानी तथा सरसफाई सम्बन्धी काम गर्न ५२ लाख बजेट प्रस्ताव गरिएको छ । आर्थिक विकासतर्फ किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गर्न समग्र रुपमा अनुमानित ४ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । त्यस्तै पशुसेवा तर्फ ८८ लाख २५ हजार, कृषि सेवामा १ करोड ५७ लाख, पर्यटन, घरेलु उद्योग तथा सहकारीमा ५३ लाख ५० हजार, श्रम तथा रोजगारमा ७० लाख, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न सरोकारवालासँग पहल गर्नका लागि आवश्यक बजेट ब्यवस्था गरिएको छ ।
त्यस्तै वन, वातावरण तथा प्रकोप ब्यवस्थापनका लागि ९५ लाख, न्यायिक समितिका लागि ३८ लाख ६० हजार र सेवा प्रवाह तथा सार्वजनिक प्रशासनका लागि १४ करोड ७३ लाख बजेट प्रस्ताव गरिएको उपाध्यक्ष रोकायले बताइन् । गाउँ सभामा यसअघि अध्यक्ष शाहीद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई मंगलबार सर्वसम्मवत रुपमा पारित गरियो । १८ औं गाउँ सभाको तेस्रो बैठकलाई अध्यक्ष शाहीले आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

