सल्यान : शारदा नगरपालिका सल्यानको आर्थिक बर्ष २०८१/०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा उक्त सार्वजनिक सुनुवाई गरिएको हो ।
नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम बिहीबार त्रिभुवन जनता माध्यामिक बिद्यालय मार्केमा गरिएको हो । सार्बजनिक सुनुवाईमा सहभागीले खानेपानीको समस्या रहेको, शिक्षक दरबन्दीको अभावमा बिद्यालयमा पठन–पाठनमा समस्या रहेको, बिद्यालयमा विज्ञान प्रयोगशालाको आवश्यक भएको, नागरिकहरुको गुनासो सहितको समस्याको निवेदन वडामा पेश गर्दा पनि सुनुवाई नहुने गरेको, जेष्ठ नागरिक खेलकुद कार्यक्रम सबै वडामा सञ्चालन नभएको, पालिकामा खेलकुद कार्यक्रमहरु सञ्चालन हुनुपर्ने, बिद्यालयमा पालिकाहरुबाट अनुगमन नहुने गरेको, युवा विदेश पलायन हुन थालेको लगायतका प्रश्न तथा समस्या उठान गरेका थिए ।
सहभागीहरुले गरेका प्रश्नको जवाफ दिदै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आफ्नो नगरपालिकाभित्र बसोबास गर्ने हरेक नागरिकको समस्यालाई आफुले नजिकबाट हेर्ने गरेको र नागरिकहरुको समस्या समाधान गर्न आफु दिन रात नभनी लागि परेको बताए । नगर प्रमुख भण्डारीले नगरपालिकाले गरेका हरेक कामहरुको मुल्यांकन जनताहरुले गर्नुपर्ने र सचेत नागरिकको हिसाबले जनप्रतिनिधीले गरेका काम प्रति चित्त नबुझेमा आफ्नै भाई छोरा सम्झी सल्लाह सुझाव दिन अनुरोध गरे ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जनताकै सेवामा जनप्रतिनिधि र कर्मचारी लागिपरेकाले बिस्तारै नागरिकका समस्या समाधान हुदै जाने बताए । नियम, कानुनभित्र रहेर आम नागरिकलाई प्रत्याभुति हुने गरी सेवा प्रवाह गरिरहेको बताउँदै नियम भन्दा बाहिर गएर काम गर्ने र गराउनेतर्फ नलाग्न आम नागरिकहरु समेत सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा, वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । दुई सय जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको अन्त्यमा ७ बुँदे साझा सार्बजनिक प्रतिवद्धता घोषण गरियो । बास नेपालका निवर्तमान अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेकी थिइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले वर्षभरी सम्पन्न गरेका कार्यक्रम तथा योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले नागरिक प्रतिवेदन र बर्हिगमन अभिमत प्रस्तुत गरेका थिए ।